बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

नागरिकको आक्रोश : पार्टी कार्यालय र शीर्ष नेताका घरमा आगजनी र तोडफोड

मंगलबार, भदौ २४ २०८२
नागरिकको आक्रोश : पार्टी कार्यालय र शीर्ष नेताका घरमा आगजनी र तोडफोड

देशभरका मुख्य सहरहरुमा विरोधमा उत्रिएका युवाहरुले त्यहाँका सरकारी कार्यालय तोडफोड र आगजनी गरिरहेका छन्।

काठमाडौं- मंगलबार निषेधाज्ञाका बीच प्रदर्शनमा उत्रिएका युवाहरुले विभिन्न सरकारी कार्यालय, पार्टी कार्यालय र शीर्ष नेता, मन्त्री र सांसदहरुको घरमा तोडफोड र आगजनी गरेका छन्।

सोमबार बेथिति र भ्रष्टाचारविरुद्ध गरेको प्रदर्शनमा सरकारले नागरिकमाथि गरेको दमनको विरोध गर्दै मंगलबार पनि आक्रोशित युवाहरुले राजनीतिक दलका नेताहरुको घरमा आगजनी गरेका हुन्। 

बालकोटस्थित प्रधानमन्त्री केपी शर्मा ओली निवास, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, कांग्रेस नेता तथा सांसद गगन थापाको घर, कैलालीको धनगढीस्थित परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको घरमा आगजनी गरेका छन्।

यस्तै, सोमबार गृहमन्त्रीबाट राजीनामा बुझाएका रमेश लेखकको चन्द्रागिरिस्थित घर र एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे, एमाले महासचिव शंकर पोखरेलको घरमा पनि आगजनी गरिएको छ भने एमाले नेता रघुवीर महासेठको घरमा ढुंगामुढा प्रहार भएको छ। 

राष्ट्रिय स्वतन्त्र पार्टी, सानेपास्थित कांग्रेसको र नेकपा एमालेको पार्टी कार्यालय, प्रदेशका मुख्यमन्त्री कार्यालय, प्रहरी प्रभाग, पनि तोडफोड र आगजनी गरिएको छ। प्रदेशका मुख्यमन्त्री र मेयरका घरमा पनि आगजनी गरिएको छ।

देशभरका मुख्य सहरहरुमा विरोधमा उत्रिएका युवाहरुले त्यहाँका सरकारी कार्यालय तोडफोड र आगजनी गरिरहेका छन्। साथै देशका विभिन्न स्थान टायर बालेर विरोध भइरहेको छ।

सोमबारको प्रदर्शनमा १९ भन्दा बढी युवाको ज्यान गएको थियो भने सयौँ युवा घाइते भएका थिए। घाइते कयौँको अवस्था गम्भीर रहेको छ। शान्तिपूर्ण विरोधमा उत्रिएका युवाहरुमाथि सरकारले गोली प्रहार गरी हत्या र दमन गरेपछि तिनै युवाका आमाबुवासमेत अहिले सडकमा उत्रिएका छन्।


प्रकाशित : मंगलबार, भदौ २४ २०८२१२:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend