बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

आततायी सरकार, राति होस्टेल-होस्टेलमा पसेर मच्चायो आतंक

मंगलबार, भदौ २४ २०८२
आततायी सरकार, राति होस्टेल-होस्टेलमा पसेर मच्चायो आतंक

विदेशमा रहेका नेपालीले पनि आफ्नो आवाज उठाइरहेका छन्। अन्तर्राष्ट्रिय समुदायको ध्यान नेपालतर्फ आकृष्ट भएको छ। सबैले सरकारको शैलीको आलोचना गरिरहेका छन्।

काठमाडौं- नयाँ पुस्ताका युवाको प्रदर्शनमा दमन भएको र सरकारले निहत्था नागरिकको अनाहकमा हत्या गरेको विरोधमा आज मंगलबार देशैभर आन्दोलन भइरहेको छ। कर्फ्यु आदेशका बाबजुत देशका धेरै ठाउँमा युवाहरुले प्रदर्शन गरिरहेका छन्।

सोमबार माइतीघर र बानेश्वरमा नयाँ पुस्ताले गरेको प्रदर्शनका क्रममा सरकारले अन्धाधुन्ध गोली चलाउँदा १९ जनाको हत्या भयो भने अन्य सयौँ घाइते भए। दिउँसोभर आन्दोलन दबाउन बर्बरता अपनाएको प्रहरी प्रशासनले सोमबार रातिसम्म बानेश्वर आसपासका होस्टेल-होस्टेलमा पसेर आतंक मच्यायो। 

होस्टेलमा पसेर विद्यार्थीहरूलाई थर्काउने पिट्ने गरिरहेको प्रहरीले भित्री गल्लीहरुमा समेत राति अबेरसम्म गोली चलाइरहेको थियो। होस्टेलमा रहेका विद्यार्थीहरूका अनुसार आन्दोलनमा आएको भन्दै घरघरमा पसेर प्रहरीले थर्काउने पिट्ने गरिरहेको थियो। 

सोमबार बानेश्वर केन्द्रित प्रदर्शन मंगलबार उपत्यकाका चोकचोकमा फैलिएको छ। पूर्वप्रधानन्यायाधीश सुशिला कार्की, कलाकार मनोज गजुरेललगायत व्यक्तिहरू सडकमा आइसकेका छन्। अन्य जिल्लाहरूमा पनि निरन्तर प्रदर्शन भइरहेको छ। 

विदेशमा रहेका नेपालीले पनि आफ्नो आवाज उठाइरहेका छन्। अन्तर्राष्ट्रिय समुदायको ध्यान नेपालतर्फ आकृष्ट भएको छ। सबैले सरकारको शैलीको आलोचना गरिरहेका छन्। 

सरकारले छोराछोरी पुस्ताको हत्या गरेको भन्दै कृषिमन्त्री रामनाथ अधिकारीले राजीनामा दिइसकेका छन्। रास्वपा सांसद अशिम शाहले पनि सांसद पदबाट राजीनामा बुझाएको घोषणा गरेका छन्। 

अधिकारी र शाहसँगै अन्य केही मन्त्रीहरूले पनि राजीनामा दिने तयारी गरिरहेका छन्। नेपाली कांग्रेस र नेकपा एमालेमा आबद्ध सयौँ नेता कार्यकताले पार्टी परित्याग गरेको घोषणा गरिरहेका छन्। 


प्रकाशित : मंगलबार, भदौ २४ २०८२११:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend