काठमाडौं- नेपाली कांग्रेसका नेता तथा कृषिमन्त्री रामनाथ अधिकारीले पदबाट राजीनामा दिएका छन्। कांग्रेस नेता शेखर कोइराला पक्षका नेता अधिकारीले राजीनामा दिँदै सरकारले युवाहरूको हत्या गरेको र आफू पनि त्यही मन्त्रिपरिषदको सदस्य भएकोमा माफी मागेका छन्।
मन्त्रीले नै सरकारले निहत्था नागरिकको हत्या गरेको र त्यो हत्याको साक्षि बस्न अपराध बोध भएको भन्दै उनले माफी पनि मागेका छन्। जब कि प्रशासन र सुरक्षा व्यवस्थामा कुनै भूमिका नहुने अधिकारीले माफी मागेर राजीनामा दिएका छन्। तर यसमा मुख्य प्रधानमन्त्री केपी शर्मा ओलीले वक्तव्य त निकाले तर कुनै पनि गल्ती महसुस गरेका छैनन्। उनले माफीको 'म' पनि उच्चारण गरेका छैनन्।
कलिला विद्यार्थीहरूले गरेको शान्तिपूर्ण प्रदर्शनको व्यवस्थापन गर्ने आधारभूत जिम्मेवारीबाट सरकार चुकेको प्रष्ट छ। प्रारम्भिक दृष्य हेर्दा नै सरकारले नियतबस मान्छे मार्ने र भीडलाई तर्साउने नीति लिएको प्रष्ट हुन्छ। अर्कोतिर मान्छेलाई गोली हान्ने कुरा प्रधानमन्त्रीको राडार बाहिर हुने कुरै भएन।
झोलामा किताब कापी बोकेका निहत्था जनता मार्ने सरकारले अपराध गरेको छ। यसको मुख्य जिम्मेवार प्रधानमन्त्री केपी शर्मा ओली हुन्, त्यसका साझेदार सत्ता गठबन्धनमा रहेका दलका नेताका साथै गृहमन्त्री रमेश लेखक, प्रहरी प्रमुख र काठमाडौं सीडीओ हुन्।
नेपालको इतिहासमा कठोर भनिएका कुनै पनि शासनमा यति धेरै नागरिक सत्ताले मारेको थिएन। यो कसीमा राख्दा केपी ओली इतिहासकै निरंकुश र तानाशाह हुन्। यस्तो निरंकुश तानाशाह लोकतान्त्रिक व्यवस्थाको प्रमुख हुन कुनै पनि दृष्टिबाट सही छैन।
केपी ओलीको सरकारले हिजोदेखि नागरिक मारेर जुन हत्या गरेको छ यसबाट अपराधको गम्भीर छानबिनमा हुनुपर्ने अवस्था आएको छ। हत्याको आरोपमा छानबिन हुनुपर्नेलाई प्रधानमन्त्री मानेर उनको निर्देशन राज्यले, जनताले किन मान्ने? किन मान्ने यस्तो सरकारको कर्फ्यू आदेश?
अर्कोतिर यो सरकारले आन्दोलनअघि नै नागरिक स्वीकार्यता गुमाइसकेको थियो। संसदको आँकडामा बहुमत भएपनि नागरिक स्वीकार्यता गुमाएको थियो।
सरकारले सामाजिक सञ्जाल बन्दको निर्णय गर्दा नागरिकले त्यसलाई मान्नुको साटो भीपीएन प्रयोग गरेर झन धेरै चलाइदिए। मुलुकको इन्टरनेट संरचना नै अवरुद्ध हुनेगरी नागरिकले सरकारी आदेशको अवज्ञा गरेबाट नै पुष्टि हुन्छ यो सरकारले नागरिक स्वीकार्यता पहिले नै गुमाइसकेको हो।
सोमबार भएको जनसंहारपछि त सरकारको औचित्य समाप्त भइसकेको छ। अहिले सरकारमा रहेकाले मार्ग प्रशस्त गर्नुको विकल्प छैन।
कृषिमन्त्री अधिकारीसँगै अन्य केही मन्त्रीहरूले पनि राजीनामा दिने तयारी गरिरहेका छन्। नेपाली कांग्रेस र नेकपा एमालेमा आबद्ध सयौँ नेता कार्यकताले पार्टी परित्याग गरेको घोषणा गरिरहेका छन्।
सोमबार बानेश्वर केन्द्रित प्रदर्शन मंगलबार उपत्यकाका चोकचोकमा फैलिएको छ। अन्य जिल्लाहरूमा पनि निरन्तर प्रदर्शन भइरहेको छ। विदेशमा रहेका नेपालीले पनि आफ्नो आवाज उठाइरहेका छन्। अन्तर्राष्ट्रिय समुदायको ध्यान नेपालतर्फ आकृष्ट भएको छ। सबैले सरकारको शैलीको आलोचना गरिरहेका छन्।
केपी ओली सरकारको 'जनसंहार' : युवा विद्यार्थीमाथि गोली प्रहार