बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

कोरला नाकाबाट चिनियाँ स्याउ आयात गर्न नपाइने

सोमबार, भदौ २३ २०८२
कोरला नाकाबाट चिनियाँ स्याउ आयात गर्न नपाइने

स्याउ आयात हुँदा स्थानीय स्याउ उत्पादक किसानलाई मर्का पर्ने भन्दै यस्तो सहमति भएको बताइएको छ।

मुस्ताङ- चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको कोरला नाकाबाट चिनियाँ स्याउ ल्याउन नपाइने भएको छ। आइतबारदेखि पूर्णरूपमा सञ्चालनमा आएको यहाँको कोरला नाकाबाट चिनियाँ स्याउ आयात गर्न नपाइने सहमति भएको मुस्ताङ भन्सार कार्यालयका प्रमुख रमेश खड्काले जानकारी दिए।

सोमबार उपल्लो मुस्ताङको लोमान्थाङमा बसेको सरोकार भएकाहरूको बैठकले चिनियाँ स्याउ भित्र्याउन नपाइने प्रारम्भिक चरणको मौखिक सहमति गरेको उनले बताए।

लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङ, लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्ट (राजु), वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष रिनजिन नामगेल गुरुङ, इलाका प्रशासन कार्यालय लोमान्थाङ, सशस्त्र प्रहरी बोर्डर आउटपोस्ट (बिओपी) र व्यापारीहरूको संयुक्त बैठकले यस्तो निर्णय गरेको जनाइएको छ।

स्याउ आयात हुँदा स्थानीय स्याउ उत्पादक किसानलाई मर्का पर्ने भन्दै यस्तो सहमति भएको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष विष्टले जानकारी दिए।

यसैगरी वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष गुरुङले हाल स्याउ आयातका विषयमा प्रारम्भिक छलफल गरेर मौखिक सहमति भएको चाँडै लिखित निर्णय गरिने बताउनुभयो । 

यसअघि सामान्य रूपमा उपल्लो मुस्ताङका लागि मात्रै खुला भएको कोरलानाका आइतबार पूर्ण रूपमा सञ्चालनमा आएको छ। यो नाका विसं २०८० कात्तिक २७ गते उपल्लो मुस्ताङका नागरिकका लागि खुला गरिएको थियो। 

यसअघि स्थानीय व्यापारीले सानो परिमाणमा सामान आयात गर्ने गरेकामा अब भने भन्सार विभागको नियममा रहेर चाहेजति सामान नेपाल ल्याउने व्यवस्था मिलाइएको भन्सार कार्यालय प्रमुख खड्काले जानकारी दिए। भन्सार कार्यालयमा आवश्यक पूर्वाधार सबै तयारी अवस्थामा राखिएकाले मालवस्तु आयात निर्यातमा कुनै समस्या नपर्ने उनले बताए। रासस


प्रकाशित : सोमबार, भदौ २३ २०८२१८:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend