बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

इटहरी उपमहानगरभित्रका यी क्षेत्रमा लगाइयो कर्फ्यु

सोमबार, भदौ २३ २०८२
इटहरी उपमहानगरभित्रका यी क्षेत्रमा लगाइयो कर्फ्यु

झडपमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका ६ जना र प्रदर्शनकारीतर्फ केही व्यक्ति घाइते भएको सहायक प्रवक्ता अधिकारीले जानकारी दिए।

सुनसरी- जिल्ला प्रशासन कार्यालय सुनसरीले आज अर्को सूचना जारी नहुन्जेलसम्मका लागि इटहरी उपमहानगरपालिकामा निषेधाज्ञा (कर्फ्यु) आदेश जारी गरेको छ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम कर्फ्यु आदेश जारी गरिएको  सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए।

उत्तरतर्फ इटहरीस्थित नेपाली सेनाको ब्यारेकदेखि पारुहाङ चोकसम्म, पूर्वमा मिलन चोकदेखि जुट विकाससम्म, दक्षिणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, यातायात व्यवस्था कार्यालय, साथी पेट्रोलपम्प र पुष्पलाल चोक हुँदै बसपार्क क्षेत्रसम्म र पश्चिमतर्फ कलंकी मोडदेखि जनताबस्तीसम्मका क्षेत्रमा निषेधाज्ञा आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालयले स्पष्ट गरेको छ।

कर्फ्यु जारी गरिएका क्षेत्रमा कुनै पनि किसिमका सभा, जुलुस, भेला, बैठक, प्रदर्शन, घेराउ गर्न नपाइने कानूनी व्यवस्था छ। इटहरी उपमहानगरपालिकामा भ्रष्टाचार भएको भन्दै नाराबाजीसहित प्रदर्शनमा उत्रिएका जेन-जी पुस्ता र प्रहरीबीच यसअघि झडप भएको थियो।

प्रदर्शनले उग्ररुप लिन थालेपछि स्थिति नियन्त्रण लिनका लागि प्रहरीले हवाइफायर र अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका सहायक प्रवक्ता तथा प्रहरी निरीक्षक दिनेश अधिकारीले जानकारी दिए।
 
झडपमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका ६ जना र प्रदर्शनकारीतर्फ केही व्यक्ति घाइते भएको सहायक प्रवक्ता अधिकारीले जानकारी दिए।

भ्रष्टाचारविरुद्ध नाराबाजी गर्दै बिहान ११ बजेदेखि यहाँ सुरु भएको प्रदर्शन अनियन्त्रित भएपछि बाध्य भइ केही संवेदनशील क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। रासस


प्रकाशित : सोमबार, भदौ २३ २०८२१८:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend