काभ्रेपलाञ्चोक- जिल्लामा अवैधरूपमा सञ्चालित ‘कन्सल्टेन्सी’ लाई जिल्ला प्रशासन कार्यालय काभ्रेले ठगी मुद्दा चलाएर कारबाहीको तयारी गरेको छ । गत बिहीबार अनुगमनका क्रममा भेटिएका अवैधरुपमा सञ्चालित कन्सल्टेन्सीलाई प्रशासनले कारबाहीको तयारी गरेको हो।
जिल्लामा एकसयभन्दा बढी कन्सल्टेन्सी सञ्चालनमा रहेको प्रशासनको प्रारम्भिक अनुगमनमा भेटिएको जनाइएको छ।
स्थानीय प्रशासनले अनुगमनका क्रममा क्रमशः सम्बन्धित कन्सल्टेन्सी कार्यालयमा पुगेर प्रमाण खोज्ने र अनुमति नलिएकालाई कानूनअनुसार ठगी ऐनअन्तर्गत कारबाहीको तयारी गरेको सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले बताए।
उनका अनुसार कन्सल्टेन्सी सञ्चालनसम्बन्धी सम्पूर्ण मापदण्ड पूरा नभएकालाई बन्द गराइने तयारी भइरहेको हो। 'अनुगमनका क्रममा मापदण्ड पूरा नगरी कन्सल्टेन्सी सञ्चालनमा ल्याएको भए तत्कालै सेवा बन्द गर्न निर्देशन दिने कानूनी व्यवस्था छ', श्रेष्ठले भने।
शुक्रबारका अनुगमनका क्रममा काभ्रेपलाञ्चोकको बनेपा नगरमा अवैधरुपमा सञ्चालित ६ वटा कन्सल्टेन्सी बन्द गर्न निर्देशन दिइएको थियो। जिल्लास्तरीय अनुगमन समितिले गरेको अनुगमनका क्रममा अवैधरुपमा सञ्चालित कन्सल्टेन्सी बन्द गर्न निर्देशन दिएको हो।
समितिले बनेपा नगरमा सञ्चालन हुँदै आएका करिब एकसयमध्ये १५ कन्सल्टेन्सीको अनुगमन गरेको जनाएको छ। जसमध्ये पाँच कन्सल्टेन्सी दर्ता रहेको फेला परेको छ भने ६ वटालाई बन्द गर्ने निर्देशन दिइएको जनाइएको छ। त्यस्तै, अनुगमन टोली पुग्दा चार कन्सल्टेन्सी सञ्चालक फरार भएका थिए।
समितिले बन्द गर्न निर्देशन दिएका कन्सल्टेन्सीमा ग्लोबल हब एजुकेसनल कन्सल्टेन्सी, मिसन कम्प्युटर एन्ड एजुकेसनल कन्सल्टेन्सी, बनेपा हार्डफोर्ड एजुकेसनल कन्सल्टेन्सी र सार एजुकेसनल नेटवर्क रहेका छन्।
यस्तै, डिस्कभरी पाथवे एजुकेसनल कन्सल्टेन्सीलाई पनि प्रमाणपत्र आएपछि मात्रै सेवा सञ्चालनको निर्देशन दिएको छ। एसडीसी एजुकेसनल कन्सल्टेन्सीलाई दर्ता नभएकाले बन्द गर्न निर्देशन दिइएको हो। काभ्रेपलाञ्चोकमा सञ्चालित कन्सल्टेन्सीको अनुगमन तीव्र पारिने कार्यालयले जनाएको छ। रासस