बिहीबार , असार २५ गते २०८३    
बिहीबार , असार २५ २०८३

कर्णालीका जलविद्युत् आयोजना अगाडि बढाइनेछ : ऊर्जामन्त्री खड्का

सोमबार, भदौ २३ २०८२
कर्णालीका जलविद्युत् आयोजना अगाडि बढाइनेछ : ऊर्जामन्त्री खड्का

उनले मुलुकलाई नोक्सानी नहुने र लगानीकर्तालाई लगानीको सुरक्षा हुने वातावरण निर्माण गर्नुपर्ने उल्लेख गरे।

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले फुकोट कर्णाली अर्धजलाशययुक्त जलविद्युत् आयोजनासँगै कर्णाली प्रदेशका अन्य आयोजना अगाडि बढाउन सरकार लागिपरेको बताएका छन्।

फुकोट कर्णाली जलविद्युत् आयोजनाको कामलाई चाँडो अगाडि बढाउनुपर्ने मागसहित मन्त्रालयमा आएको कालीकोटको सर्वदलीय बैठकमा उनले कर्णाली प्रदेशको समृद्धिका लागि मन्त्रालयले फुकोट कर्णालीसँगै अन्य जलविद्युत् आयोजनाको कामलाई अगाडि बढाउन खोजेको बताए।

उनले आयोजना निर्माणका लागि सम्झौता भएको भारतीय कम्पनी एनएचपीसी लिमिटेडसँगको सहकार्यमा आयोजनाको कामलाई अगाडि बढाउन विद्युत् उत्पादन कम्पनीलाई निर्देशनसमेत दिए।

'देशभरका आयोजनालाई सरकार एक्लैले लगानी गर्न सक्दैन भनेर कम्पनी खोलेका हौँ, भीयुसीएलले भारतको भरपर्दो कम्पनी एनएचपीसीसँग सहकार्य गरेर फुकोट कर्णालीलाई अगाडि बढाउन खोजेको छ, ‘टाइमलाइन’ अनुसार काम गर्न कम्पनीलाई परिपत्र गर्नुस्,' उनले भने।

मन्त्री खड्काले मुलुकलाई नोक्सानी नहुने र लगानीकर्तालाई लगानीको सुरक्षा हुने वातावरण निर्माण गर्नुपर्ने उल्लेख गरे। ऊर्जामन्त्री खड्काले गरिब र विपन्न नागरिकलाई बिनाधितो सरकारले ऋणको व्यवस्था गरेर जलविद्युत्को सेयर खरिद गर्ने वातावरण निर्माण गरेको उल्लेख गरे।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेता एवम् कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सम्झौता भइसकेको आयोजनालाई चाँडो कार्यान्वयनमा लैजानुपर्ने बताए।

कांग्रेस कालीकोटका सचिव नगेन्द्रबहादुर विष्टले कर्णाली प्रदेशको समृद्धिका लागि उक्त आयोजनालाई चाँडो सम्पन्न गर्नुपर्ने बताए।

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता धनबहादुर बुढाले कालीकोट र सिंगो कर्णालीको विकासका लागि उक्त आयोजनालाई चाँडो बनाउनुपर्ने बताए। ४८० मेगावाटको फुकोट कर्णाली जलविद्युत् आयोजना भारतीय कम्पनी एनएचपीसी लिमिटेडको लगानीमा निर्माण हुनेगरी सम्झौता भएको थियो। रासस


प्रकाशित : सोमबार, भदौ २३ २०८२१४:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend