बिहीबार , असार २५ गते २०८३    
बिहीबार , असार २५ २०८३

‘जेनजी’ प्रदर्शनका कारण राज्य व्यवस्था समितिको बैठक बीचैमा स्थगित

सोमबार, भदौ २३ २०८२
‘जेनजी’ प्रदर्शनका कारण राज्य व्यवस्था समितिको बैठक बीचैमा स्थगित

छलफलमा सहभागी सांसद रामहरि खतिवडा, ज्ञानेन्द्र शाहीलगायतले गृहमन्त्री, गृहसचिव, प्रहरी महानिरीक्षक उपस्थित नभएका बेला प्रहरीसम्बन्धी विधेयक अघि बढाउन उपयुक्त नहुने विचार व्यक्त गरेका थिए।

काठमाडौं- प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठक ‘जेनजी’ पुस्ताको प्रदर्शनका कारण बीचैमा स्थगित भएको छ। बैठकमा सहभागी गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानवीर राई र गृहसचिव गोकर्णमणि दुवाडी प्रदर्शनपछि विकसित घटनाक्रमका बारेमा छलफल गर्न निस्किएपछि बैठक स्थगित भएको हो।

बैठकमा नेपाल प्रहरीसम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक, २०८१ माथि संशोधनकर्ता सांसदसँग छलफल भइरहेको थियो। गृहमन्त्री, रक्षामन्त्री र गृहसचिव बैठकबाट बाहिरिएसँगै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद बुद्धिमान तामाङले सरकारको प्रतिनिधिको उपस्थितिबिना विधेयकमाथिको छलफल अघि बढाउन उपयुक्त नहुने भन्दै बैठक स्थगित गर्न आग्रह गरे।

समिति सभापति ईश्वरीदेवी न्यौपानेले गृहमन्त्री केही समयका लागि अनुमति लिएर बाहिरिएको जानकारी दिँदै बैठकलाई निरन्तता दिने प्रस्ताव गरिन्। छलफलमा सहभागी सांसद रामहरि खतिवडा, ज्ञानेन्द्र शाहीलगायतले गृहमन्त्री, गृहसचिव, प्रहरी महानिरीक्षक उपस्थित नभएका बेला प्रहरीसम्बन्धी विधेयक अघि बढाउन उपयुक्त नहुने विचार व्यक्त गरे।

अधिकांश सांसदले बैठक स्थगित गर्न प्रस्ताव गरेसँगै सभापति न्यौपानेले आजको बैठक स्थगित भएको घोषणा गरे। त्यसअघि बैठकमा सांसदहरू मैना कार्की, प्रतिमा गौतम, अशोककुमार चौधरीलगायतले संशोधन प्रस्तावमाथि आ-आफ्नो धारणा राखेका थिए। सो विधेयकमा ५२ वटा संशोधन प्रस्तावमा विभिन्न ६४८ वटा विषयमा संशोधन दर्ता भएको छ। विधेयकको प्रस्तावनामा नै २२ वटा संशोधन परेको छ। रासस


प्रकाशित : सोमबार, भदौ २३ २०८२१३:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend