काठमाडौं- भ्रष्टाचार र बेथितिविरुद्ध 'जेनजी' ले सोमबार प्रदर्शन गरिरहँदा काठमाडौंमा कर्फ्यू आदेश जारी भएको छ।
जिल्ला प्रशासन कार्यालय, काठमाडौंले प्रदर्शनरत युवाहरु संसद् भवन घेर्न पुगेसँगै परिस्थिति नियन्त्रण बाहिर जानसक्ने देखिएपछि सुरक्षालाई ध्यानमा राख्दै आज अपराह्न १२:३० देखि राति १० बजेसम्मका लागि बानेश्वर क्षेत्रमा कर्फ्यू लगाएको हो।
बानेश्वर चोकदेखि पश्चिम एभरेष्ट होटल हुँदै बिजुलीबजार पुलसम्म, पूर्व मीनभवन, शान्तिनगर हुँदै तीनकुने चोकसम्म कर्फ्यू लगाइएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालद्वारा जारी सूचनामा उल्लेख छ।
यस्तै, बानेश्वर चोकदेखि उत्तर आइप्लेक्स मल हुँदै रत्नराज्य माध्यमिक विद्यालयसम्म, साथै दक्षिण शंखमुल ओरालो हुँदै शंखमुल पुलसम्म कर्फ्यू आदेश जारी भएको छ।
ती क्षेत्रमा आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यू आदेश जारी गरिएको प्रजिअ रिजालले जानकारी दिए।