बिहीबार , असार २५ गते २०८३    
बिहीबार , असार २५ २०८३

मुस्ताङको कोरला नाका पूर्णरुपमा सञ्चालन

सोमबार, भदौ २३ २०८२
मुस्ताङको कोरला नाका पूर्णरुपमा सञ्चालन

कोरला नाकाबाट चिनियाँ सामान आयात गर्न विभागले मुस्ताङ भन्सारलाई सक्रिय बनाउन थालेको छ।

मुस्ताङ- उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको मुस्ताङको कोरला नाका पूर्ण सञ्चालनमा आएको छ।

आर्थिक वर्ष २०८० कात्तिक २७ गते उपल्लो मुस्ताङका नागरिकलाई मात्रै बाह्रै महिना खुल्ला गरिएको यहाँको कोरला नाका आइतबारदेखि पूर्णरुपमा सञ्चालनमा आएको मुस्ताङ भन्सार कार्यालयले जनाएको छ। यहाँको सो नाकालाई व्यापारिक मार्गका रुपमा विस्तार गर्न भन्सार विभागले विभागमा कार्यरत भन्सार अधिकृत रमेश खड्कालाई मुस्ताङ भन्सार कार्यालयको प्रमुखको रुपमा सरुवा गरेको छ।

यसैगरी, यहाँको भन्सार कार्यालयका लागि रसुवागढी नाकामा कार्यरत दुई नायब सुब्बा र एक कम्प्युटर अपरेटर गरी तीनजना जनशक्ति खटाइएको कार्यालय प्रमुख खड्काले बताए। यहाँ साबिक एकजना कम्प्युटर अपरेटर रहेको र कार्यालयको मुख्य काम गर्ने पाँच जनशक्ति भन्सार जाँचका लागि तयारी अवस्थामा रहेको भन्सार प्रमुख खड्काको भनाइ छ। कार्यालयमा विभागले खटाएका सबै कर्मचारी आइतबारदेखि हाजिर भइसकेको उनले जनाए।

कोरला नाकाबाट चिनियाँ सामान आयात गर्न विभागले मुस्ताङ भन्सारलाई सक्रिय बनाउन थालेको छ। गत असारमा रसुवागढी नाका र साउनको पहिलो साता तातोपानी नाकामा बाढीपहिरोले चिनियाँ सामान नेपाल ढुवानीमा अवरोध सिर्जना भएपछि भन्सार विभागले यहाँको नाकालाई गतिशील बनाउने योजना अघि बढाएको हो।

रसुवागढी नाका र तातोपानी नाकाको सडक अवरुद्ध छ। दुवै नाका बन्द भएपछि दसैँ र तिहारजस्ता महत्वपूर्ण चाडपर्वका लागि चाहिने चिनियाँ सामान आयातमा समस्या परेपछि आयातकर्ता व्यापारीहरुले अर्थ मन्त्रालय र भन्सार विभागमा सामान ल्याउने वातावरण बनाइदिन अनुरोध गरेका थिए।

सोही आयातकर्ता व्यापारीहरुको अनुरोधलाई मध्यनजर गर्दै विभागले यहाँको मुस्ताङस्थित नेपाल-चीन कोरला नाकालाई औपचापरिकरुपमा व्यापारिक मार्गका रुपमा सञ्चालनमा ल्याएको मुस्ताङ भन्सार कार्यालयका प्रमुख खड्काको भनाइ छ।

रसुवागढी नाका र तातोपानी नाकामा बाढीपहिरोले समस्या आएपछि यहाँको कोरलानाका वैकल्पिक नाकाका रुपमा सञ्चालनमा ल्याउन खोजिएको भए पनि यहाँको नाकामा आयात निर्यातमा कुनै समस्या नपर्ने भन्सार कार्यालय प्रमुख खड्काले उल्लेख गरे। रासस


प्रकाशित : सोमबार, भदौ २३ २०८२१२:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend