बिहीबार , असार २५ गते २०८३    
बिहीबार , असार २५ २०८३

महाशिलामा करोडौँ रूपैयाँको लगानीमा बनेको वायुऊर्जा आयोजना दुई दशकदेखि अलपत्र

आइतबार, भदौ २२ २०८२
महाशिलामा करोडौँ रूपैयाँको लगानीमा बनेको वायुऊर्जा आयोजना दुई दशकदेखि अलपत्र

लथालिङ्ग अवस्थामा रहेको हावाबाट विद्युत् निकाल्ने वायुऊर्जा केन्द्रलाई पुनःसञ्चालन गर्न स्थानीयले माग गरेका छन्।

पर्वत- झन्डै दुई दशकदेखि अलपत्र बनेको यहाँको एक विकट गाउँको वायुऊर्जा आयोजना सञ्चालन गर्न स्थानीयले माग गरेका छन्। 

महाशिला गाउँपालिका-६ फलामखानीमा करोडौँ रूपैयाँको लगानीमा बनेको हावाबाट बिजुली निकाल्ने प्रविधि मर्मतसम्भारको अभावमा अलपत्र बनेको हो। दुई दशकअघि स्थापना भई सञ्चालनमा आएको उक्त वायुऊर्जा समयसमयमा मर्मतसम्भारको अभावमा गुज्रिएको छ। केन्द्रबाट विद्युत् उत्पादन भएको छैन। त्यहाँ जडित सामानसमेत काम नलाग्ने अवस्थामा पुगेपछि स्थानीयले मर्मत गर्न माग गरेका छन्।

लथालिङ्ग अवस्थामा रहेको हावाबाट विद्युत् निकाल्ने वायुऊर्जा केन्द्रलाई पुनःसञ्चालन गर्न स्थानीयले माग गरेका छन्। विसं २०६० मा स्थापना भएको केन्द्र विसं २०६३ मा तीन वर्षपछि नै बन्द भएको थियो।

‘टीटीबीजी’ नामक संस्थाले एक करोड रूपैयाँभन्दा बढीको लगानीका वायुऊर्जा आयोजना निर्माण गरेको थियो। संरक्षण र मर्मत हुन नसक्दा सुरु भएको एक वर्षमै बन्द भएपछि वायुऊर्जा आयोजना अहिले अलपत्र अवस्थामा पुगेको स्थानीय ठाकुर रसाइलीले जानकारी दिए। त्यसमा भएको लगानी पनि डुबेको उनको भनाइ छ।

फलामखानीका वडाध्यक्ष गोविन्द विश्वकर्माका अनुसार समुद्री सतहदेखि दुई हजार २०० मिटरको उचाइमा रहेको फलामखानी ढडेनको डाँडामा अत्यधिकमात्रामा हावा लाग्ने भएकाले उक्त वायुऊर्जा स्थापना गरिएको थियो। वायुऊर्जा सञ्चालनमा आएपछि फलामखानी, भँगरा,लगायत सयौँ घरधुरीले विद्युत् उपभोग गर्दै आएका थिए। तर अहिले अलपत्र परेको अवस्थामा टुलुटुलु हेरेर बस्न परेको विश्वकर्माले बताए।

त्यत्तिकै अलपत्र परेको आयोजनाको काम अगाडि बढाइदिन सम्बन्धित निकायलाई स्थानीयले आग्रह गरेका छन्। हावाको मापनसमेत गर्न सकिने उक्त डाँडामा आयोजनाको काम पुनःपरीक्षण गरी अगाडि बढाउन सकिने उनले बताए। उक्त योजनाबाट पुनःविद्युत् उत्पादन गरी गाउँका सबै घरधुरीमा विस्तार गर्न जिल्ला समन्वय समिति, ऊर्जा मन्त्रालयलगायतसँग माग गरिएको अध्यक्ष विश्वकर्माले बताए।

संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमले तयार पारेको एक रिपोर्टअनुसार नेपालमा तीन हजार मेगावाट विद्युुत् हावाबाट उत्पादन गर्न सकिन्छ। उक्त आयोजनाबाट करिब १२ किलोवाट बिजुली उत्पादन हुँदै आएको थियो। वायुऊर्जा आयोजना पुनर्निर्माण गर्नसकेमा फलमखानी करिब ३०० घरधुरी र छिमेकी वडा भँगरा तथा पाखापानीका बासिन्दासमेत प्रत्यक्ष लाभान्वित हुने स्थानीयको भनाइ छ।

गाउँपालिकाले उक्त वायुऊर्जा आयोजनाका बारेमा विस्तृत अध्ययन गरी पुनःसञ्चालन कार्ययोजना बनाउने तयारी गरेको अध्यक्ष ईश्वरी भुसालले बताइन्। चालु आर्थिक वर्षदेखि नै अलपत्र आयोजनाको व्यवस्थापनमा लाग्ने बताइन्। रासस


प्रकाशित : आइतबार, भदौ २२ २०८२१३:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend