बिहीबार , असार २५ गते २०८३    
बिहीबार , असार २५ २०८३

म्याग्दीबाट करिब एक अर्बको आलु र सुन्तला बिक्री

आइतबार, भदौ २२ २०८२
म्याग्दीबाट करिब एक अर्बको आलु र सुन्तला बिक्री

आव २०८१/८२ मा म्याग्दीबाट ६० करोड रूपैयाँको आलु र ३३ करोड ४६ लाख बराबरको सुन्तला बिक्री भएको हो।

म्याग्दी- गत आर्थिक वार्षिकमा यहाँबाट करिब एक अर्ब रूपैयाँको आलु र सुन्तला बिक्री भएको छ। जिल्लास्थित कृषि ज्ञान केन्द्रका अनुसार आव २०८१/८२ मा यहाँबाट ६० करोड रूपैयाँको आलु र ३३ करोड ४६ लाख बराबरको सुन्तला बिक्री भएको हो।

केन्द्रका प्रमुख सञ्जीव बाँस्तोलाले गत आवमा एक हजार आठसय २० हेक्टर क्षेत्रफलमा उत्पादन भएको ३५ हजार चारसय ९० मेट्रिकटन आलु प्रतिकिलो न्यूनतम ३५ रूपैयाँका दरले बिक्री हुँदा ६० करोड रूपैयाँको कारोबार भएको जानकारी दिए।

उनका अनुसार एक हजार आठसय २० क्षेत्रफलमा प्रतिहेक्टर १९ दशमलव पाँच मेट्रिकटनका दरले आलु उत्पादन भएको छ। चारसय २५ हेक्टर क्षेत्रफलमा उत्पादन भएको चार हजार सातसय ८१ दशमलव तीन मेट्रिकटन सुन्तला प्रतिकिलो ८० रूपैयाँका दरले ३३ करोड ४६ लाख ७० हजारमा बिक्री भएको केन्द्रका प्रमुख बाँस्तोलाले बताए।

म्याग्दीको आलु र सुन्तला बेनी, पोखरा, काठमाडौं र चितवनका बजारमा बिक्री हुन्छ। क्षेत्रफल विस्तार, अनुकूल मौसम, रोगकीराको समस्या नदेखिएकाले आलु र सुन्तलाको उत्पादन बढेको प्रमुख बाँस्तोलाले बताए।

आव २०८०/८१ मा एक हजार सातसय ५० हेक्टरमा ३१ हजार चारसय ५० मेट्रिकटन आलु र २४ करोड रूपैयाँ बराबरको तीन हजार ६०० मेट्रिकटन सुन्तला उत्पादन भएको थियो। कृषि ज्ञान केन्द्रका प्राविधिकले ‘क्रपकटिङ’ विधिबाट फलफूल, तरकारी र खाद्यबाली उत्पादनको तथ्यांक संकलन गर्दै आएका छन्।

अन्नपूर्ण गाउँपालिकाको शिख, खिबाङ, राम्चे, काफलडाँडा नाङ्गी, हिस्तान, पाउद्वार, रघुगङ्गा गाउँपालिकाको कुइनेमङ्गले, दर्मिजा, चिमखोला, ठाडाखानी, बेनी नगरपालिकाको भकिम्लीलगायत ठाउँमा आलु उत्पादन हुन्छ। राखु, मरेक, सुर्केमेला, बरङ्जा, भेँडाबारी, अर्मन, रुन्मा, बिम, ओखरबोट, ताकम, घतान, पिप्ले, भगवती, बेग, दोवा, दोसल्ले, घार, भुरुङ तातोपानी, दाना र नारच्याङमा दुईसयभन्दा बढी सुन्तला बगैँचा छन्।

सवारीसाधनको पहुँच पुगेपछि गाउँगाउँमा उत्पादन भएको आलु र सुन्तलाले बजार पाउन थालेको हो। कृषि ज्ञान केन्द्र र राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनाले जिल्लामा आलु र सुन्तलाखेती विस्तार तथा प्रवर्द्धनसम्बन्धी कार्यक्रम सञ्चालन गरेका छन्।

गत आर्थिक वर्षमा केन्द्रको ४७ लाख १४ हजार रूपैयाँ सहयोगमा ४२ वटा फार्म तथा समूहमा आवद्ध एकसय ६४ परिवार किसानले तीनसय ७० रोपनी बगैँचा सुदृढीकरण र ४० रोपनीमा विस्तार गरेका कृषिप्रसार अधिकृत गंगा लामिछानेले जानकारी दिइन्।

खायन आलु कार्यक्रममार्फत तीन वटा सहकारी र २७ समूहलाई बीउ, यान्त्रिकरण, सिँचाइ पूर्वाधार, ‘प्याकेजिङ’ र ढुवानीका लागि ८७ लाख ६४ हजार रूपैयँ अनुदान उपलब्ध गराइएको केन्द्रले जनाएको छ। यस वर्ष सुन्तला जात फलफूल बगैँचा स्थापना तथा विस्तारका लागि ६ लाख रूपैयाँ र सुदृढीकरणका लागि १९ लाख ८० हजार रूपैयाँ बजेट प्राप्त भएको छ।

जिल्लामा आलु जोन कार्यक्रमले अन्नपूर्ण र रघुगंगा गाउँपालिका तथा बेनी नगरपालिका-९ र १० मा आलुखेती विस्तारमा सहयोग गर्दै आएको छ।

यस वर्ष पर्वत, बागलुङ र म्याग्दीमा सञ्चालन भइरहेको सुन्तला जोनमा ५३ लाख ८५ हजार रूपैयाँ, रघुगंगा, बेनी र अन्नपूर्ण गाउँपालिका कार्यक्षेत्र भएको आलु जोनका लागि १६ लाख ६८ हजार रूपैयाँ बजेट प्राप्त भएको परियोजनाका कृषि अधिकृत विक्रम बस्यालले जानकारी दिए। रासस


प्रकाशित : आइतबार, भदौ २२ २०८२१३:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend