बिहीबार , असार २५ गते २०८३    
बिहीबार , असार २५ २०८३

एक करोड लगानीमा बागलुङमा साबुन उद्योग सञ्चालन, ६ जनालाई रोजगारी

आइतबार, भदौ २२ २०८२
एक करोड लगानीमा बागलुङमा साबुन उद्योग सञ्चालन, ६ जनालाई रोजगारी

स्वदेशमै उद्योग सञ्चालन गरेका तीर्थ र ताराको उद्योगमा अहिले ६ जनाले रोजगारी पाएका छन्।

बागलुङ- एक करोड लगानीमा बागलुङमा साबुन उद्योग सञ्चालनमा आएको छ। काठेखोला गाउँपालिका-७ रेशका तीर्थ गौतम र तारा शर्माले पछिल्लो दुई वर्षदेखि कालिका सबुन उत्पादन गर्दै आएका हुन्। उनीहरु दुवै स्नातकोत्तर उत्तीर्ण हुन्। उनीहरुलाई समकालीन साथीहरू विदेशिँदा तिमीहरू पनि विदेश जाऊ भनेर सल्लाह दिनेहरू नभेटिएका होइनन्।

परिवारकै सदस्यले पनि विदेश जानुको विकल्प देखिँदैन भन्थे। तर तीर्थ र ताराले विदेशको विकल्प रोज्ने होइन, नेपालमै उद्यमी बन्ने सपना देखे। यतिबेला उनीहरू दुई वर्षको छोरासँगै आफ्नो उद्योगलाई हुर्काइरहेका छन्। स्वदेशमै स्वरोजगार सृजना गरेका तीर्थ र ताराको उद्योगमा अहिले ६ जनाले रोजगारी पाएका छन्।

बागलुङ बजारको हल्लनचोक नजिकै रहेको टिएण्डटी म्यानुफ्याक्चरिङ उद्योगबाट तीर्थ र ताराले भाँडा र कपडा धुने साबुन उत्पादन गरेर बागलुङको गलकोट, बुर्तिबाङ, कुश्मिसेरा, बरेङ र म्याग्दी र पर्वत जिल्लाका मुख्य सहरमा बिक्री गर्दै आएका छन्।

विसं २०७८ मा पर्यटन तथा उद्योग कार्यालय र बागलुङ नगरपालिकामा उद्योग दर्ता गरेका तीर्थ र ताराले २०८० सालबाट साबुन उत्पादन गरेर बिक्री गर्न थालेका हुन्। ५० लाख रूपैयाँ लगानी गरेर सुरु गरेको उद्योगमा एक करोड रूपैयाँभन्दा बढी लगानी पुगेको छ। निकट भविष्यमा सरफ, हार्पिक र कुलिनसमेत उत्पादन गर्ने लक्ष्य रहेको ताराले बताइन्।

उनले भनिन्, 'अहिले विदेश जाने लहर चलेको छ, तर हामीहरूले यही नै केही गर्नुपर्छ भन्ने सोच बनायौँ र साबुन उद्योग सुरु गरेका हौँ, नयाँ कामको सुरुवात आफैबाट थालनी गर्नुपर्छ भन्ने मान्यता राख्छौँ, यहाँ साबुन उद्योग सञ्चालन हुँदा गाउँठाउँकै स्थानीयले नै रोजगार पाउँछन्।'

साबुन उत्पादनका लागि अधिकांश कच्चा पदार्थ भारत र केही काठमाडौंबाट खरिद गर्ने तीर्थले बताए। आफूहरूले वार्षिक ५० लाख रूपैयाँबराबरको कारोबार गर्ने उनको भनाइ छ। दुईसय ग्रामको कपडा धुने कालिका साबुनलाई ५० रूपैयाँमा बिक्री गर्दै आएको उनी बताउँछन्। उत्पादनमा मात्र नभएर उत्पादित साबुनको गुणस्तरमा समेत ध्यान दिने गरेको उनले सुनाए। रासस


प्रकाशित : आइतबार, भदौ २२ २०८२११:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend