बिहीबार , असार २५ गते २०८३    
बिहीबार , असार २५ २०८३

उपभोक्ताको आयआर्जनमा टेवा पुर्‍याउन पुरैनातालमा माछापालन

आइतबार, भदौ २२ २०८२
उपभोक्ताको आयआर्जनमा टेवा पुर्‍याउन पुरैनातालमा माछापालन

उपभोक्ताको आयआर्जनमा टेवा पुर्‍याउने उद्देश्यसहित सामुदायिक वन उपभोक्ता समितिले माछापालन गरेको हो।

कञ्चनपुर- शुक्लाफाँटा नगरपालिका-९ मा अवस्थित वृन्दावन सामुदायिक वनभित्र रहेको प्राकृतिक पुरैनातालमा व्यावसायिक रूपमा माछापालन गरिएको छ। उपभोक्ताको आयआर्जनमा टेवा पुर्‍याउने उद्देश्यसहित सामुदायिक वन उपभोक्ता समितिले माछापालन गरेको हो। 

सामुदायिक वनका अध्यक्ष मोहनसिंह ऐरका अनुसार तालमा रोहु, कमन र ग्रास जातका गरी २५ हजार माछाका भुरा राखेर माछापालन गरिएको छ। 'हाल माछाको तौल एक किलोदेखि दुई किलोसम्म पुगिसकेको छ', अध्यक्ष ऐरले भने, 'दसैँतिहारको समयमा बिक्रीका लागि निकाल्ने योजना बनाएका छौँ।'

तालबाट दुईसयदेखि दुईसय ७५ क्विन्टल माछा उत्पादन हुने उनले बताए। उनका अनुसार माछा बिक्रीबाट संकलित आम्दानी वन क्षेत्रमा मेसवायर जडान, विपन्न परिवारका बालबालिकालाई छात्रवृत्ति, र उपभोक्तालाई तरकारीखेती र पशुपालनतर्फ प्रोत्साहन गर्न प्रयोग गरिनेछ।

'पहिलो प्राथमिकता वन संरक्षण र विकासलाई दिएका छौँ', अध्यक्ष ऐरले भने, '६ किलोमिटर क्षेत्रमा मेसवायर जडान गरिनेछ, त्यसपछि कृषि तथा पशुपालनमा लगानी हुनेछ।' गर्मीयाममा अकासे पानी मात्रमा निर्भर तालमा पानी सुक्ने समस्या देखिएको छ।

'अटोजन बोरिङको व्यवस्था भएमा तालमा एकनासको पानी आपूर्ति गर्न सकिनेछ', अध्यक्ष ऐरले भने, 'यसका लागि स्थानीय, प्रदेश र संघीय सरकारलाई आवश्यक बजेटका लागि आग्रह गरेका छौँ।'

वृन्दावन सामुदायिक वन क्षेत्रमा पुरैना, लरङ्गा र अजिङ्गर ताल रहेका छन्। पुरैनाताल पूरै सुक्दैन, तर बाँकी दुई तालमा गर्मीयाममा पानी सुक्ने समस्या देखिन्छ। तीनै तालमा बाह्रै महिना पानी रहने व्यवस्था मिलाइएमा यो क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावना रहेको अध्यक्ष ऐर बताउँछन्। रासस


प्रकाशित : आइतबार, भदौ २२ २०८२१०:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend