बिहीबार , असार २५ गते २०८३    
बिहीबार , असार २५ २०८३

बागलुङमा घ्यू भण्डारण गर्न ‘कोल्डस्टोर’ सञ्चालन

शनिबार, भदौ २१ २०८२
बागलुङमा घ्यू भण्डारण गर्न ‘कोल्डस्टोर’ सञ्चालन

संघको १० लाख र १० लाख रूपैयाँ पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयको अनुदानमा १० टन क्षमताको कोल्डस्टोर बनाइएको हो।

गलकोट- बागलुङमा घ्यूको उचित तापक्रममा भण्डारणका लागि १० टन क्षमताको चिस्यान केन्द्र (कोल्डस्टोर) निर्माण गरी सञ्चालनमा ल्याइएको छ। जिल्लामा किसानको दूधको संकलन, प्रशोधन र बजारीकरण गर्दै आएको बागलुङ दूग्ध सहकारी संघले स्थापना गरेको उद्योगमा २० लाख रूपैयाँको लागतमा घ्यू कोल्डस्टोर बनाइएको हो। 

पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयको ५० प्रतिशत अनुदान सहयोगमा घ्यू कोल्डस्टोर निर्माण गरिएको दूग्ध सहकारी संघ बागलुङका अध्यक्ष दिपक गौतमले जानकारी दिए। संघको १० लाख र १० लाख रूपैयाँ पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयको अनुदानमा १० टन क्षमताको कोल्डस्टोर बनाइएको हो।

जिल्लाका एक हजार ४०० भन्दा बढी किसानबाट दैनिक तीन हजार ५०० लिटर दूधको संकलन, प्रशोधन र बजारीकरण गर्दै आएको संघले घ्यूलाई उचित तापक्रममा भण्डारण गरी बिक्री गर्नका लागि घ्यू कोल्डस्टोरले सघाएको गौतमले बताए।

'दूधको माग घटबढ हुन्छ, कहिले दूधको माग धान्नै सकिन्न कहिले दूध धेरै भएको हुन्छ, दूधबाट छुर्पी बनाउदा ठूलो परिमाणमा घ्यू उत्पादन हुन्छ, उत्पादन भएको घ्यू एकैपटक बजारमा बिक्रीसमेत हुँदैन त्यसैले घ्यूलाई उचित तापक्रममा भण्डारण गर्न सानो फ्रिजले पुग्दैन', गौतमले भने, 'दूधको खपत कम हुँदा उत्पादन भएको घ्यूलाई क्रमश: बिक्रीका लागि १० टन क्षमताको कोल्डस्टोर अझै कम हुन्छ हामीलाई तर अनुदानले राहत मिलेको छ।'

कोल्डस्टोरमा घ्यूलाई माइनस डिग्रीमा भण्डारण गरिँदै आइएको छ। अहिले संघले एक हजार ५०० रूपैयाँमा एक केजी घ्यू बिक्री गर्दै आएको छ। दूधसँगै दूधजन्य उत्पादन पनिर, छुर्पी, घ्यू र खुवा उत्पादन गर्दै आएको सहकारी संघले आर्थिक वर्ष २०८१/८२ मा किसानबाट आठ करोड ९३ लाखको नौ लाख ९२ हजार लिटर दूध खरिद गरेर बिक्री गर्दै आएको छ।

दूधमा आत्मनिर्भर जिल्लाका रूपमा रहेको बागलुङमा २४ प्रारम्भिक सहकारी र एक संघले दूधको संकलन र बजारीकरण गर्दै आएको छ। रासस


प्रकाशित : शनिबार, भदौ २१ २०८२११:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend