बिहीबार , असार २५ गते २०८३    
बिहीबार , असार २५ २०८३

नेपाल आर्ट एण्ड कल्चर फेस्टिवल सुरु, २३ दिनसम्म उपत्यका उत्सवमय हुने

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, भदौ २० २०८२
नेपाल आर्ट एण्ड कल्चर फेस्टिवल सुरु, २३ दिनसम्म उपत्यका उत्सवमय हुने

नेपाल पर्यटन बोर्ड, नेपाल आर्ट काउन्सिल र नेपाल होटल व्यवसायी संघलगायतको आयोजना र काठमाडौं उपत्यका र निजी क्षेत्रको सहकार्यमा इन्द्र जात्राको अवसरमा शुभारम्भ भएको महोत्सव असोज ११ गतेसम्म चल्‍नेछ।

काठमाडौं- नेपालमा पहिलो पटक ‘नेपाल आर्ट एण्ड कल्चर फेस्टिवल-२०२५’ शुक्रबारदेखि सुरु भएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल कला परिषद् बबरमहलमा आयोजित एक औपचारिक समारोहमार्फत महोत्सवको उद्घाटन गरेका हुन्। उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपाललाई विश्वमा चिनाउने प्रमुख आधारका रूपमा रहेका कला, संस्कृति र सम्पदाको संरक्षण तथा प्रवर्द्धनमा सरकार र निजी क्षेत्र समान रूपमा अग्रसर हुनुपर्ने बताएका छन्। 

राष्ट्रपति पौडेलले भने, 'लोकतन्त्रमा सबै वर्ग र पेशाका मानिसलाई समान अवसर प्राप्त हुन्छ। त्यसैको सदुपयोग गर्दै हाम्रो प्राचीन धरोहर, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्नु हाम्रो साझा दायित्व हो।'

उनले नेपालको सांस्कृतिक सम्पदा अध्ययन, अवलोकन र अनुसन्धानका लागि बर्सेनि लाखौँ पर्यटक आउने भएकाले सम्पदाको संरक्षणमा सम्पदाप्रेमी सधैँ सचेत रहनुपर्ने पनि बताए।

सोही कार्यक्रममा शुभकामना मन्तव्य दिँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले महोत्सवलाई नेपालको सांस्कृतिक पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने महत्वपूर्ण अवसरका रूपमा उपयोग गर्नुपर्ने बताएका छन्।

उनले भने, 'नेपालको संस्कृति र प्रकृतिका कथा र यसको संरक्षणमा हाम्रा पुर्खाहरुले पुर्‍याएको योगदानका कथाहरु संसारलाई सुनाउन र चिनाउन यस किसिमको महोत्सव उपयोगी हुने मेरो विश्‍वास छ।'  

मन्त्री पाण्डेले यस महोत्सवलाई वार्षिक क्यालेन्डरमा समेट्दै हरेक वर्ष अझ विस्तृत र व्यवस्थित रूपमा आयोजना गरिने जानकारी दिए।

कार्यक्रममा शुभकामना मन्तव्यका दिँदै नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नेपाल प्रायः पर्वतीय र साहसिक पर्यटनका लागि चिनिए पनि यो महोत्सवमार्फत नेपाललाई ‘कला र सांस्कृतिक धरोहरहरूको भण्डार’ का रूपमा प्रस्तुत गर्न लागिएको बताए। सीईओ जोशीले अहिले पर्यटनका हिसाबमा ‘अफसिजन’ समय भनेर प्रचार गरिए पनि हाम्रो सांस्कृतिक प्रदर्शनीमार्फत् पर्यटकहरु तान्‍न सकिने समेत बताएका छन्।

उनले थपे, 'हाम्रो विशिष्ट संस्कृतिलाई जगेर्ना गर्दै संसारभर प्रचार गर्न सके पर्यटन आम्दानी बढ्ने मात्र होइन, नेपालको समृद्धिमासमेत प्रत्यक्ष योगदान पुग्नेछ।'

नेपाल आर्ट काउन्सिलका अध्यक्ष सागर शमशेर राणाले यस्ता सांस्कृतिक पर्वहरूले नेपाललाई मात्र नभइ अन्तर्राष्ट्रिय स्तरमै ठूलो महत्व राख्ने भएकाले यसलाई ‘वैश्विक सांस्कृतिक पर्व’ को रूपमा विस्तार गर्ने लक्ष्य राखिएको जानकारी दिए।

काठमाडौं उपत्यकाका चारवटै सहर काठमाडौं, ललितपु, भक्तपुर र किर्तिपुरका विभिन्‍न ठाउँमा २३ दिनसम्म चल्ने महोत्सवमा ४० भन्दा बढी कार्यक्रम हुनेछन्। जसमा १५४ कलाकारका २७३ कलाकृति प्रदर्शनीमा राखिने छन्। साथै सांस्कृतिक प्रदर्शनी, कला-कौशल, संगीत-नृत्य, परम्परागत परिकार र जीवित संस्कृतिको अनुभव गर्ने अवसर उपलब्ध हुने छ।

नेपाल पर्यटन बोर्ड, नेपाल आर्ट काउन्सिल र नेपाल होटल व्यवसायी संघलगायतको आयोजना र काठमाडौं उपत्यका र निजी क्षेत्रको सहकार्यमा इन्द्र जात्राको अवसरमा शुभारम्भ भएको महोत्सव असोज ११ गतेसम्म चल्‍नेछ।

'नेपालको शाश्वत कला, संस्कृति, खानपान र सम्पदाको उत्सव' भन्ने नारासहित सुरु भएको महोत्सवले उपत्यकाका पुराना सहरलाई उत्सवमय बनाउने र पर्यटनसँगै सांस्कृतिक गौरवलाई विश्वमञ्चमा पुर्‍याउने बोर्डको विश्वास छ। 


प्रकाशित : शुक्रबार, भदौ २० २०८२१४:२५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend