चितवन- व्यावसायिक किट विकास केन्द्र भण्डाराले कन्य च्याउको बीउ उत्पादन सुरु गरेको छ। कार्यालयले यस वर्ष चार हजार पोका (एक हजार किलो) कन्य च्याउको बीउ उत्पादन गर्न लागेको हो।
कार्यालयकी प्रमुख सुरुचि त्रिपाठीका अनुसार चालु आर्थिक वर्षमा व्यावसायिक च्याउखेती गर्ने किसानलाई बीउ उपलब्ध गराउने उद्देश्यले उत्पादन गर्न लागिएको हो। उनले २५० ग्रामका बीउका पोका उत्पादन गर्न लागिएको जनाउँदै बजारमा भन्दा सस्तो र स्तरीय बीउ उत्पादन गरेर किसानलाई उपलब्ध गराइने बताइन्।
एउटा पोका बीउको मूल्य ३५ रूपैयाँ निर्धारण गरिएको छ। बजारमा दुईसय ग्राम बीउलाई ३५ रूपैयाँ पर्ने गरेको उनले बताइन्। प्रमुख त्रिपाठीले भनिन्, 'कृषि प्राविधिकको निगरानीमा बीउ उत्पादन भएकाले अन्यभन्दा गुणस्तरीय छ।'
किसानको आवश्यकता अनुसार बीउ उत्पादन बढाउँदै लगिने जनाउँदै उनले हालसम्म एक हजार २०० पोका बिक्रीका लागि तयारी गरिएको बताइन्। कार्यालयले चार वर्षदेखि च्याउको बीउ उत्पादन गर्दै आएको छ।
कार्यालयले रेशमखेतीका लागि किम्बु, फलफूल तथा आलंकारिक बिरुवाको बेर्ना उत्पादन, रेशमखेतीको विकास, किम्बु बगैँचा व्यवस्थापन तथा किम्बुको मातृ स्रोतको संरक्षण र विकास, रेशमखेतीमा प्रविधिको अध्ययन, परिक्षण, विकास तथा प्रसार गर्दै आएको छ।
साथै विभिन्न प्रजातिका च्याउको उत्पादन, प्रविधिबारे प्रदर्शनी, च्याउको उन्नत उत्पादन तथा उत्पादनोपरान्त प्रविधि अध्ययन, परिक्षण तथा विकास गर्ने, निजी क्षेत्रका प्रयोगशालामार्फत उत्पादन हुने च्याउ र बीउको अनुगमन तथा सुपरीवेक्षण गरी गुणस्तर परिक्षण गर्नेलगायतका काम गर्दै आएको छ। रासस