शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

बन्दीपुरका धानबालीमा ब्लाष्ट रोग, सतर्कता अपनाउन कृषकलाई अनुरोध

बिहीबार , भदौ १९ २०८२
बन्दीपुरका धानबालीमा ब्लाष्ट रोग, सतर्कता अपनाउन कृषकलाई अनुरोध

ब्लाष्ट रोग धानका बाला तथा बेर्नामा लाग्ने एक प्रकारको ढुसीजन्य रोग हो। यो रोगले ब्याडका बेर्ना मार्ने तथा धानका बालालाई सुकाउने गर्छ।

तनहुँ- यहाँको बन्दीपुर गाउँपालिका-१ नाहालास्थित धानबालीमा मरुवा (ब्लाष्ट) रोग देखा परेको छ। नाहालामा लगाइएको धानबालीको अनुगमनका क्रममा उक्त रोग देखिएकाले समयमा सतर्कता अपनाउन कृषकलाई अनुरोध गरिएको छ।

धानबालीसम्बन्धी कुनै समस्या देखा परेमा तुरुन्त कृषि प्राविधिक वा कृषि विकास शाखामा सम्पर्क गर्न कृषकलाई आग्रह गरिएको गाउँपालिकाका कृषि शाखाका प्राविधिक सहायक दिनेश सुवर्णकारले बताए। उनका अनुसार ब्लाष्ट रोग धानका बाला तथा बेर्नामा लाग्ने एक प्रकारको ढुसीजन्य रोग हो। 

धानबालीमा लाग्ने प्रमुख रोगहरू मध्यको यो एक भएको बताउँदै उनले भने, 'यो रोगले ब्याडका बेर्ना मार्ने तथा धानका बालालाई सुकाउने गर्छ। जुन, सन् १९६६ मा पहिलो पटक देखिएको थियो।' यो रोग बिउबाट पनि सर्ने भएकाले अघिल्लो वर्ष रोग देखिएका ठाउँका बिउ उपचार नगरी वा रोगी बिरुवा प्रयोग गर्दा फैलिएको हुनसक्ने उनको भनाइ छ।

कृषि प्राविधिक सुवर्णकारले भने, 'रोग लागेका धानबालीको पातमा स-साना सेतो टिकाजस्तो देखिने दाग, बीचमा भएका खैरा थोप्ला देखा पर्ने तथा फलेको धानमा बाला तलतिर डाँठको वरिपरि वा आँख्लामा खैरो रंगको दागहरू देखिने र बाला मर्ने समस्या देखा पर्दछ। ढुसीले अनुकूल भएको समयमा विभिन्न भागमा बिस्तारै गोलो, लाम्चो आँखाजस्तै आकार बनाउँछ र बीचमा खरानी रंग तथा बाहिर खैरो रंग भएका थोप्लाहरू देखा पर्दछन्।'

उक्त समस्याबाट धानबालीलाई जोगाउन गतवर्ष रोग नदेखिएको मूल बीउबाट मात्र बीउको छनोट गर्नुपर्ने, पर्याप्त घाम लाग्ने ठाँउमा राम्रोसँग हिलो बनाएर बीउ राख्ने, नुनपानीको सहायताले बीउबाट भुस छान्नेलगायत काम गर्न सकिने उनले सुझाव दिए। रासस


प्रकाशित : बिहीबार , भदौ १९ २०८२१५:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend