म्याग्दी- पहिरोले कक्षाकोठा भवन, शौचालय, खेलमैदानलगायत सबै संरचना बगाएपछि म्याग्दीको मालिका गाउँपालिका-४ मा रहेको ओखरबोट माध्यमिक विद्यालय स्थानान्तरण भएको छ।
ओखरबोटको फेदीमा रहेको पाखोबाट सुरु भएको पहिरोले पुरानो भवनसहित भौतिक संरचना बगाएपछि किमबोटमा अस्थायी भवन निर्माण गरी पठनपाठन सञ्चालन गरिएको हो।
आर्थिक वर्ष २०८१/८२ मा मालिका गाउँपालिकाको २० लाख रूपैयाँ अनुदानमा १३ कोठे कच्ची भवन बनाएर स्थानान्तरण गरिएको मालिका-४ का वडाध्यक्ष भिजेन्द्रमान पुनले बताए।
'विद्यालयको थप पूर्वाधारका लागि यस वर्ष दश लाख रूपैयाँ विनियोजन भएको छ', उनले भने, 'पहिरो रोकथामका लागि संघीय र प्रदेश सरकारसँग पहल गरेका छौँ।' चार/चार कोठे दुईवटा पक्की भवनमुनिको जमिन चर्किएपछि ढल्ने अवस्थामा रहेका उनले जानकारी दिए।
ढुंगा, माटो र काठले बनेको १७ कोठे कच्ची भवन, शौचालय, घेराबार र खेलमैदान पहिरोसँगै बगेको छ। भिरालो पाखोमा रहेको विद्यालय भवनमाथि रहेको सडकको भल, भूमिगत पानी, कमजोर भूगोल र तल रहेको दाजुङखोलाको कटानका कारण पहिरो गएको स्थानीय बताउँछन्।
पहिरोले तीन करोड रूपैयाँभन्दा बढीको भौतिक संरचनामा क्षति पुर्याएको विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष पबहादुर विश्वकर्माले बताए। 'किमबोटको अस्थायी भवन परिसरमा घेराबार, ढल व्यवस्थापन र संरक्षणका लागि स्रोतको खोजीमा छौँ', उनले भने, 'पुरानो भवनको ढुंगा र फर्निचर प्रयोग गरेर अस्थायी भवन बनाएका हौँ।'
विद्यालयका प्रधानाध्यापक नविन कार्कीका अनुसार विसं २००८ मा स्थापना भएको कक्षा १० सम्म पठनपाठन हुने विद्यालयमा हाल २०० विद्यार्थी अध्ययनरत छन्। 'कच्ची भवनको एउटा कोठामा पढाएको अर्को कोठामा सुनिन्छ। कोठा विभाजन, पलास्टर र रंगरोगन तथा घेराबार गर्न बाँकी छ', उनले भने।
ओखरबोट गाउँभित्र भवन बनाउन विसं २०८० मङ्सिरमा अमिक शेरचनका १० दाजुभाईले नौ रोपनी तीन आना तीन दाम दुई पैसा क्षेत्रफल भएको जग्गा उपलब्ध गराएका थिए। पूर्वउपप्रधानमन्त्री रहेका शेरचनका दाजुभाइले सरकारीको मापदण्ड अनुसार ४४ लाख ७७ हजार रूपैयाँ मूल्य पर्ने उक्त जग्गा निशुल्क रूपमा उपलब्ध गराए पनि नाम राख्ने विषयमा विवाद देखिएको थियो।
वडा सदस्य भिमसरा पुनले जग्गादाताले विद्यालयको नाम परिवर्तन गर्न प्रस्ताव गरे पनि गाउँपालिका तहमा सहमति नजुटेकाले उक्त जग्गामा भवन निर्माण प्रक्रिया अघि बढ्न नसकेको बताए।
पहिरोले क्षति गरेको विद्यालयको बुधबार निरीक्षण गरेका गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले तत्कालीन रूपमा अस्थायी कक्षाकोठा व्यवस्थापन गर्न सरकारसँग समन्वय गर्ने प्रतिबद्धता जनाए।
जग्गादाता र गाउँपालिका तथा समुदायले विद्यालयको नामसम्बन्धी विषयलाई टुंगो लगाउन आग्रह गर्दै उनले थप पूर्वाधार निर्माणका लागि प्रदेश र संघीय सरकारका निकायमा पहल गर्ने बताए। रासस