बिहीबार , असार २५ गते २०८३    
बिहीबार , असार २५ २०८३

दसैँका लागि अग्रिम टिकट बुकिङबारे सुरु भयो छलफल

बिहीबार , भदौ १९ २०८२
दसैँका लागि अग्रिम टिकट बुकिङबारे सुरु भयो छलफल

असोज ६ गते घटस्थापना भएकाले त्यसको करिब एक साताअघिदेखि टिकटको अग्रिम बुकिङ खुलाउनेगरी सरोकारवालासँग छलफल थालिएको यातायात व्यवस्था विभागले जनाएको छ।

काठमाडौं- दसैँ नजिकिएसँगै सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुलाउने विषयमा छलफल सुरु भएको छ। दसैँ सुरु हुनु एक साताभन्दा अघिदेखि टिकटको अग्रिम बुकिङ खोल्ने गरिएको छ। 

यात्रुको सहजताका लागि यातायात व्यवस्था विभागले यातायात व्यवसायी, ट्राफिक प्रहरीलगायत सरोकारवालाहरुसँग छलफल गरेर देशभर जाने सार्वजनिक बसको टिकट अग्रिम बुकिङ गर्न पाउने व्यवस्था हरेक वर्ष गर्दै आएको छ।

यो वर्षको दसैँ असोज ६ गतेदेखि सुरु हुँदैछ। असोज ६ गते घटस्थापना भएकाले त्यसको करिब एक साताअघिदेखि टिकटको अग्रिम बुकिङ खुलाउनेगरी सरोकारवालासँग छलफल थालिएको यातायात व्यवस्था विभागले जनाएको छ। 

केही दिनअघि यातायात व्यवसायी, ट्राफिक प्रहरी, सडक विभागलगायतसँग अनौपचारिक छलफल भएको विभागको भनाइ छ। आगामी साता सबैपक्षसँग औपचारिक छलफल गरेर कहिलेदेखि अग्रिम टिकट बुकिङ खुलाउने र व्यवस्थापनका लागि गरिने काम बारे निर्णय गर्ने तयारीमा विभाग छ। 

यातायात व्यवसायीहरुले भने बर्खा सकिइ नसकेकाले बाटोको अवस्था सुधार गरेर मात्र अग्रिम बुकिङ खुलाउनु पर्ने बताएका छन्। अग्रिम टिकट बुकिङ खुलाउन समस्या नभएको तर बाटोको अवस्था सुधार गर्नु अनिवार्य भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बताए।

‘सबैभन्दा पहिले बर्खाले बिगारेको बाटो बनाउन सडक विभाग र सरकारी निकायहरुले चासो दिनुपर्‍यो। काठमाडौंबाटो जाने मुख्य राजमार्गसँगै देशका क्षेत्रीय सहरबाट गाउँ गाउँ जाने बाटो पनि बनाउनुपर्ने आवश्यकता छ,’ उनले भने, ‘अझै पानी पर्ने अनुमानहरु भइरहेका छन्। त्यो हेरेर बाटो सहज भयो भने अग्रिम टिकट बुकिङ खुलाउन कुनै समस्या छैन।’

मनसुन रहँदै यो वर्षको दसैँ पर्ने भएकाले सरकारले सडक मर्मतमा तीव्रता दिनुपर्ने सार्वजनिक यातायात व्यवासायीले सुझाएका छन्। सरकारले सडक मर्मत सम्भार गर्न सके आफूले टिकट खुलाउन कुनै समस्या नरहेको व्यवसायीहरुले बताएका छन्। 

यातायात व्यवसायीहरुले दसैँमा काठमाडौंलगायत देशका अन्य सहरहरुबाट पनि लाखौँको संख्यामा यात्रुहरु गाउँ जाने भएकाले नयाँ बससमेत खरिद गर्ने गरेका छन्। विगत केही वर्षयता व्यवसायीले नयाँ बस खरिद नगरेकाले यो वर्ष नयाँ बस राम्रै संख्यामा खरिद हुने अनुमान गरिएको छ।  

सरकारले पर्वलक्षित सडक मर्मत सम्भार सुरु गरेको छ। हरेक वर्ष बर्खा सकिएलगत्तै दसैँ सुरु हुने भएकाले यातायातका साधनका आवागनमलाई सहज बनाउन भेलले विगारेका सडक मर्मतको काम सडक विभाग र मातहतको कार्यालयले गर्दे आएको छ। सडक विभागले बिग्रिएका सडक मर्मतको काम अगाडि बढाएको छ। 

विगतमा सरकारले महिना दिनआगवै अग्रिम टिकट बुकिङ खुलाउँदै आएको छ। कोरोना महामारीयता यो प्रक्रियामा केही ढिलाइ हुँदै आएको छ। आगामी साता हुने औपचारिक छलफलपछि अग्रिम टिकट बुकिङबारे निर्णय हुने व्यवसायीहरुले बताएका छन्। 


प्रकाशित : बिहीबार , भदौ १९ २०८२०६:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend