काठमाडौं- यस वर्षको इन्द्रजात्रामा रथ तान्नेलगायतका भूमिकामा रहने व्यक्तिलाई पाँच लाख रूपैयाँसम्मको बीमा गरिने भएको छ।
यस वर्षको इन्द्रजात्राको तयारीसम्बन्धी जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा पर्वमा अहोरात्र खटिनेका लागि पहिलोपटक यस्तो व्यवस्था गरिएको गुठी संस्थानले जनाएको छ।
राष्ट्रप्रमुख सहभागी हुने र देशका प्रमुख पर्वमध्ये पर्ने इन्द्रजात्रामा हनुमानढोका आसपासका मानन्धरलगायत विभिन्न समुदायका झन्डै ८ सय जना संलग्न रहने गर्छन्।
'तीमध्ये पर्व सुरु भएदेखि सम्पन्न नभएसम्म अहोरात्र खटिने करिब १०० जनालाई एकदेखि पाँच लाख रूपैयाँसम्मको दुर्घटना बीमा गर्न लागेका हौँ', संस्थानका कार्यकारी प्रमुख शैलेशराज कुँवरले भने।
यस वर्षको इन्द्रजात्रा भदौ १९ गते लिंगो काटेर सुरु हुँदैछ। यसका लागि आवश्यक सम्पूर्ण खर्च व्यवस्थापन, जनशक्ति परिचालन र विभिन्न निकायबीच समन्वय गुठी संस्थानले गरिरहेको छ। जात्रा सम्पन्न गर्न हनुमानढोका दरबार कार्यालय, काठमाडौं महानगर, नेपाली सेनादेखि नेपाल विद्युत् प्राधिकरणसम्मका निकाय संलग्न छन्।
जात्रा अवधिभर आकाश भैरवको मूर्तिलाई खटमा राखी पूजा गर्ने, महाकाली, एरावत नाचहरु, त्रैलोक्य नारायण मन्दिरमा दशावतार नाटक देखाउने, दहचोकमा मेला भर्ने र स्वेतभैरवको मुखमा जडित नलिबाट बगाइने मदिरालाई प्रसादका रूपमा ग्रहण गर्नेजस्ता क्रियाकलाप हुन्छन्।
यसका साथै इन्द्रचोक, किलागल र नरदेवीमा इन्द्रको मूर्ति प्रदर्शन तथा पूजा गर्ने र नेवार समुदायमा पाहुनापासालाई निम्ता गरी ‘समय बजि’ (चिउरा, राँगाको छोइलासहितको र कालो भटमाससहितको परिकार) खुवाउने काम हुन्छ।
हनुमानढोकाको गद्दी बैठकमा पुगी राष्ट्रप्रमुखले जात्रा अवलोकन गर्ने परम्परा आन्तिम मल्लराजा जयप्रकाश मल्लको पालादेखि चल्दै आएको हो। रासस