कञ्चनपुर- दुर्लभ वन्यजन्तु र वनस्पतीका लागि प्रसिद्ध शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटकको सङ्ख्या पछिल्ला उल्लेखनीय वृद्धि हुन सकेको छैन। निकुञ्ज कार्यालयको तथ्यांकअनुसार तत्कालीन कोभिड-१९ को महामारीपछि निकुञ्ज अवलोकन गर्ने पर्यटकको सङ्ख्या न्यून नै रहेका छन्।
निकुञ्ज कार्यालयका अनुसार आर्थिक वर्ष २०७५/७६ मा १२ हजार १३८ जनाले निकुञ्ज भ्रमण गरेका थिए। यसमा ३०८ जना विदेशी पर्यटक र ३५० दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन(सार्क)मुलुकका र ११ हजार ४८० जना स्वदेशी पर्यटकले निकुञ्ज भ्रमण गरेका थिए। यसपछि महामारीमा सुस्ताएको पर्यटन माथि उठ्न सकेको छैन। कोरोनापछि विदेशी पर्यटकमात्रै नभइ आन्तरिक पर्यटकको सङ्ख्यासमेत न्यून छ।
निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले कोरोना महामारीअघिसम्म शुक्लाफाँटा भ्रमण गर्ने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या उलेख्य रहेपनि महामारीपछि यहाँ पर्यटक न्यून रहेको जानकारी दिए। पछिल्लो समय यहाँ आन्तरिक पर्यटकको सङ्ख्यामा समेत कमी आएको उनले बताए।
'कोरोना महामारी सुरुवात हुनुभन्दा अघिल्लो वर्षसम्म आन्तरिक तथा विदेशी पर्यटकले यहाँ भ्रमण गरेको पाइन्छ', उनले भने, 'महामारीपछि पनि विदेशी पर्यटक त शून्यजस्तै छ नै आन्तरिक पर्यटकको सङ्ख्या समेत न्यून रहेको छ।'
निकुञ्ज कार्यालयको तथ्यांकअनुसार आव २०७६/७७ मा एक हजार ६०३ जनाले मात्रै निकुञ्ज भ्रमण गरेका छन्। आव २०७७/७८ मा दुई हजार ९२७ जनाले निकुञ्ज भ्रमण गरेको देखिन्छ।
त्यसैगरी, आव २०७८/०७९ मा दुई हजार ५७९ जना पर्यटकले निकुञ्ज भ्रमण गरेका छन्। यसमा सार्क मुलुकका ४५ जना र १०५ जना विदेशीले निकुञ्ज भ्रमण गरेका छन्। आव २०७९/८० मा तीन हजार २७८ जनाले निकुञ्ज भ्रमण गरेका छन्। यसमा १५८ जना विदेशी र १२१ जना सार्क मुलुकका छन्।
त्यसैगरी आव २०८०/८१ मा तीन हजार ७६२ जना पर्यटकले शुक्लाफाँटा भ्रमण गरेका छन्। यसमा १३२ विदेशी र ११२ सार्क मुलुकका पर्यटकले निकुञ्ज अवलोकन गरेका छन। आव २०८१ /८२ मा तीन हजार ३७१ जनाले निकुञ्ज भ्रमण गरेका छन्। यसमा १९९ विदेशी र १५२ सार्क मुलुकका पर्यटक छन्। यो सङ्ख्या कोरोना महामारीको तुलनामा अत्यन्त न्यून हो।
पर्यटक न्यून भएपछि निकुञ्ज कार्यालयले राजस्वसमेत संकलन गर्न सकेको छैन। गत आवमा पर्यटक र सवारीसाधनको प्रवेश शुल्कबाट २० लाख रूपैयाँमात्रै राजस्व संकलन गरेको सूचना अधिकारी वाग्लेले बताए। उनले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज जैविक विविधताले भरिपूर्ण रहे पनि विभिन्न समस्याका कारण यहाँ उलेख्यरुपमा पर्यटक आउन नसकेको बताए।
'पर्यटकीय पूर्वाधारमा कमी, नेपाल-भारत सीमामा पर्यटकका लागि असहजता र प्रचारप्रसारको अभावले यहाँ पर्यटक बढ्न सकेका छैनन्', उनले भने, 'यहाँ पर्यटकका लागि सुविधा पनि सीमित मात्रामा छन् जंगल सफारीबाहेक अन्य गतिविधि नहुँदा पनि यहाँ पर्यटकको सङ्ख्यामा कमी आएको हो।' उनले यहाँ निजी क्षेत्रबाट समेत लगानी हुन नसकेको बताए।
कञ्चनपुरका पर्यटन व्यवसायी परमानन्द भण्डारीले सरकारको प्राथमिकतामा नपर्दा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रचारप्रसार हुन नसकेको बताए। 'यहाँ धेरै सम्भावना हुँदाहुँदै पनि सरकारको प्राथमिकतामा पर्यटन पर्न सकेको छैन', उनले भने, 'शुक्लाफाँटा पर्यटकका लागि उत्तम गन्तव्य हो यसको प्रचारप्रसार र पर्यटनका पूर्वाधार विकास गर्नु जरुरी छ।'
शान्त वातावरण, ठूलो घाँसे मैदान र थोरै क्षेत्रफलमा धेरै दुर्लभ वन्यजन्तुको अवलोकन गर्न सकिने भए पनि यहाँ पर्यटकका लागि पूर्वाधार निर्माण नहुँदा यहाँसम्म पर्यटक पुग्न नसकेको पर्यटन व्यवसायी बताउँछन्।
होटेल व्यवसायी संघ कञ्चनपुरका निर्वतमान अध्यक्ष जगदीश भट्टले विदेशी पर्यटक आउने प्रमुख नाकामा सहज आवागमन नहुँदा समस्या भएको बताए। 'एउटा यहाँ पर्यटनका क्षेत्रमा का गर्ने दक्ष जनशक्ति छैन अर्को पर्यटकको सहजताका लागि आवश्यक पूर्वाधारमा राज्यबाट लगानी हुन सकेको छैन', उनले भने, 'राज्यले प्राथमिकताका साथ पर्यटन क्षेत्रमा काम गनएसके मात्रै यहाँको पर्यटन व्यवसाय फष्टाउँछ।' उनले यहाँको जैविक विविधता र सम्भावनाका बारे प्रचारप्रसार समेत हुन नसकेको बताए।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रका ताल र नदी आसपासमा विभिन्न प्रजातिका चराचुरुङ्गी देख्न पाइन्छ। वन्यजन्तु मात्रै नभइ दुर्लभ वनस्पतिको लागि पनि शुक्लाफाँटा प्रसिद्ध छ। निकुञ्जमा ५६ प्रजातिका घस्रने वन्यजन्तु रहेका छन् भने १५ प्रजातिका उभयचर, ८८ प्रजातिका माछा, १११ प्रजातिका पुतली, ४६१ प्रजातिका चरा र ५६ प्रजातिका स्तनधारी वन्यजन्तु रहेको निकुञ्ज कार्यालयले जनाएको छ।
विश्वमै दुर्लभ मानिएको सारस, खरमजुर, सिम तित्रा, राजधेश र लेसर भुडीफोरजस्ता वन्यजन्तु पनि छन्। यसमा पाटेबाघ, एकसिंगे गँडा, हात्ती बाह्रसिङ्गा, कृष्णसार, सालक, नीलगाई, चितुवा चित्तल, लगुना, रतुवा, हिसपिड खरायो, बँदेल आदि रहेका छन्। तीनसय पाँच वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बाह्रसिङ्गेका लागि प्रसिद्ध मानिन्छ। निकुञ्जमा दुई हजार ३२३ बढी बाह्रसिङ्गा छन्। रासस