शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

रोगले अलैँचीबाली सखाप हुन थालेपछि किबीखेतीतिर लिसंखुपाखरका किसान

बुधबार, भदौ १८ २०८२
रोगले अलैँचीबाली सखाप हुन थालेपछि किबीखेतीतिर लिसंखुपाखरका किसान

केही वर्षअघि अलैँचीको पकेट क्षेत्र कहलिएको अत्तरपुर किबीखेतीमा बदलिएको छ। गाउँपालिकाकै अलैँची पकेट क्षेत्र बनाउने योजना रहे पनि अलैँचीमा रोग लागेर नष्ट भएको सन्दर्भमा पालिकाले कुनै ठोस निर्णय नगरेको गाउँपालिकाका अध्यक्ष राजु लामाले बताए।

सिन्धुपाल्चोक- अलैँचीको पकेट क्षेत्रका रूपमा चिनिएको लिसंखुपाखर गाउँपालिका-४ का किसान अलैँचीमा रोग लागेपछि निराश भएका छन्। गाना कुहिने, पात डढ्ने र फल नलाग्दा अलैँचीखेती सखाप भएको छ।

विगतमा पर्याप्त आम्दानी भएपछि खेतबारी मासेर किसानले अलैँंचीखेती गरेका थिए। केही वर्षयता रोगले अलैँची उत्पादनमा कमी आएको छ। अलैँचीमा रोग लागेपछि कतिपय किसानले खेती गर्न छाडेका छन्। अलैँचीमा देखिएको रोग निदान गर्न सरकारले सहयोग गर्नुपर्ने उनीहरूको माग छ।

पन्ध्र वर्षअघिदेखि अलैँची व्यवसाय गरेका शशिनाथ शाक्यले वार्षिक पाँच लाख आम्दानी गर्थे। तर उनको व्यवसाय अलैँचीमा सिन्धुरे र गानो कुहिने रोग लागेपछि सखाप भयो। अलैँचीको बेर्ना उत्पादन तथा अलैँची भट्टी राखेर बिक्री गरेर लाखौँ आम्दानी गर्ने शाक्य अहिले न अलैँची बेर्ना उत्पादन गर्छन् न तयारी अलैँची बिक्री नै गर्छन्।

जिल्लाका अलैँची किसानलाई यो व्यवसाय सिकाएका शाक्यले जिल्लाभरि नै अलैँची बिरुवा वितरण गर्थे। तर अहिले यो व्यवसाय चटक्कै छाडेका छन्। अलैँचीमा लागेको उक्त रोगका बारेमा जिल्ला प्राविधिक कार्यालयमा सहयोग मागे पनि समुदायले आफैले नष्ट गर्नुपर्ने भनेपछि समुदायले आफैले नष्ट गरेको उनी बताउँछन्।

अलैँचीमा लाग्ने सिन्धुरो रोग एक ठाउँमा नष्ट गरे पनि वरिपरि सबै ठाउँमा नष्ट नगरेसम्म अन्त्य हुँदैन। उक्त रोग लागेको अलैँची नष्ट गर्न खर्चिलो हुने भएपछि स्थानीयले अन्य पेसा नै छाडेको किसान शाक्य बताउँछन्।

किसान शाक्यजस्तै अत्तरपुरका प्रायः किसानले अलैँची लगाउन छाडेका छन्। केही किसानले किबी व्यवसाय थालेको उनी बताउँछन्। किबीखेती सुरुमा लगाउन खर्चिलो र निकै मिहिनेत गर्नुपर्ने भए पनि भरपर्दो आम्दानी भएपछि किसानले यो व्यवसाय रोजेका छन्।

पछिल्लोपटक किबी व्यवसाय थालेका शाक्यका अनुसार एउटा बोट किबी लगाउन कम्तीमा पाँच हजार रूपैयाँ खर्च गर्नुपर्छ। तीन वर्ष लागेपछि फल दिन सुरु गर्ने किबीको प्रतिबोट वार्षिक ७० किलोसम्म उत्पादन हुने शाक्य बताउँछन्। उनका अनुसार कम्तीमा १० वर्षसम्म फल दिने किबीको अहिले बजार मूल्य किसानबाटै प्रतिकिलो तीन सयदेखि पाँचसय रूपैयाँसम्म बिक्री हुने गरेको छ।

केही वर्षअघि अलैँचीको पकेट क्षेत्र कहलिएको अत्तरपुर किबीखेतीमा बदलिएको छ। गाउँपालिकाकै अलैँची पकेट क्षेत्र बनाउने योजना रहे पनि अलैँचीमा रोग लागेर नष्ट भएको सन्दर्भमा पालिकाले कुनै ठोस निर्णय नगरेको गाउँपालिकाका अध्यक्ष राजु लामाले बताए। रासस


प्रकाशित : बुधबार, भदौ १८ २०८२१३:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend