शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

म्याग्दीका किसानलाई कृषि उत्पादन तथा पशुपालनमा अनुदान

बुधबार, भदौ १८ २०८२
म्याग्दीका किसानलाई कृषि उत्पादन तथा पशुपालनमा अनुदान

कार्यक्रमका प्रकृतिअनुसार कुल लागतको ५० देखि ८५ प्रतिशतसम्म अनुदान पाउने कार्यविधि छ।

म्याग्दी- आर्थिक वर्ष २०८२/८३ मा म्याग्दीका किसानहरुका लागि अनुदान वितरण गर्न चार करोड २३ लाख बजेट प्राप्त भएको छ।

किसानलाई वितरणका लागि कृषि ज्ञान केन्द्रमा रूपैयाँ दुई करोड ९९ लाख २० हजार, भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा एक करोड ६४ लाख रूपैयाँ र राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनामा एक करोड २४ लाख ४८ हजार रूपैयाँ बजेट विनियोजन भएको हो।

राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनाले आवेदन संकलनका लागि सूचना जारी गरेर कार्यक्रम कार्यान्वयनको प्रक्रिया अघि बढाएको छ भने प्रदेश सरकारका कार्यालयहरु केही नयाँ कार्यक्रमहरुको कार्यविधि आएपछि कार्यान्वयनको तयारी गरेका छन्। कार्यक्रमका प्रकृतिअनुसार कुल लागतको ५० देखि ८५ प्रतिशतसम्म अनुदान पाउने कार्यविधि छ।

कृषि ज्ञान केन्द्रका प्रमुख सञ्जिव बास्तोलाले यस वर्षको नयाँ कृषि उद्यम विकास कार्यक्रमलाई २५ लाख रूपैयाँ, लोकमार्ग/कोरिडोर केन्द्रित कृषि उत्पादन तथा प्रर्वद्धन कार्यक्रमका लागि २० लाख रूपैयाँ, निर्यातजन्य कृषि वस्तु प्रर्वद्धन कार्यक्रमलाई १० लाख रूपैयाँ, विपद्‌बाट क्षति व्यहोरेको कृषकलाई राहत दिन आठ लाख रूपैयाँ र ग्रामीण कृषि पर्यटन प्रर्वद्धन कार्यक्रमका लागि पाँच लाख रूपैयाँ बजेट प्राप्त भएको जानकारी दिए।

यसअघिको तीनवटा आर्थिक वर्षमा सञ्चालन भएको खायन आलु प्रर्वद्धन कार्यक्रम यस वर्ष हटेको छ। केन्द्रले गत वर्ष सञ्चालन गरेको कार्यक्रम मार्फत दुई करोड १२ लाख ९५ हजार रूपैयाँ अनुदान वितरण भएको थियो। कार्यक्रमहरुबाट एक हजार चारसय एकजना कृषक लाभान्वित भएका र विभिन्न तालिममा नौसय ९९ जना सहभागी भएका छन्।

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका सूचना अधिकारी सुभाष रेग्मीले चालु कार्यक्रम सञ्चालनका लागि एक करोड ६४ लाख रूपैयाँ बजेट प्राप्त भएको जानकारी दिए। कालीगण्डकी कोरिडोरमा केन्द्रित पशुपक्षी तथा मत्य उत्थान कार्यक्रमलाई २० लाख रूपैयाँ र विपद्‌बाट पशुधन क्षति भएका किसानलाई राहत दिन १० लाख रूपैयाँ बजेट प्राप्त भएको जानकारी दिए।

आर्थिक वर्ष २०८१ / ८२ मा ४३ वटा फर्म, समूह र सहकारी संस्थाले केन्द्रले सञ्चालन गरेको आठ वटा कार्यक्रममार्फत ३८ लाख ७० हजार ७५ रूपैयाँ अनुदान पाएका केन्द्रका प्रमुख पशु विकास अधिकृत गोपाल गिरीले बताए। पशुधनको सुरक्षा तथा उत्पादन वृद्धिका लागि जिल्लाका सबै स्थानीय तहका कृषकले पालेका ८९ हजार ६ सय ५१ गाई, भैसी, बाख्रा, भेडा र कुकुरलाई महामारीजन्य रोगविरुद्ध पाँच प्रकारका खोप लगाइएको थियो।

राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइका कृषि अधिकृत बिक्रम बस्यालले मुस्ताङ र म्याग्दीका कृषि उद्यमीहरुलाई अनुदान उपलब्ध गराउन २०/२० लाख रूपैयाँ बजेट विनियोजन भएको जानकारी दिए।

पर्वत, बागलुङ र म्याग्दीमा सञ्चालन भइरहेको सुन्तला जोनमा ५३ लाख ८५ हजार, रघुगंगा, बेनी र अन्नपूर्ण गाउँपालिका कार्यक्षेत्र भएको आलु जोनका लागि १६ लाख ६८ हजार र म्याग्दी जिल्लाभर कार्यक्षेत्र रहेको बंगुर जोनमा २९ लाख ९० हजार रूपैयाँ बजेट रहेको कृषि अधिकृत बस्यालले बताए। उनका अनुसार परियोजनामार्फत गत आर्थिक वर्षमा म्याग्दीका कृषकहरुले ९९ लाख रूपैयाँ अनुदान सुविधा पाएका छन्। रासस


प्रकाशित : बुधबार, भदौ १८ २०८२१३:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend