काठमाडौं- बीमा कम्पनीहरूले सूचीकृत कम्पनीको सेयरमा लगानी गर्ने दायरा फराकिलो भएको छ। बीमा प्राधिकरणले 'बीमकको लगानीसम्बन्धी निर्देशन २०८२' मार्फत यसलाई खुकुलो बनाएको हो।
निर्देशनबाट सबै प्रकारका बीमा कम्पनीको लगानीको दायरा फराकिलो बनाएको हो।अबदेखि यस्ता कम्पनीले सूचीकृत कम्पनीको साधारण वा संस्थापक सेयरमा कुल लगानीको १५ प्रतिशतमसम्म लगानी गर्नसक्ने भएका छन्।
यसअघि यस्तो सीमा १० प्रतिशत थियो। बीमा कम्पनीले यस्तो लगानी गर्दा जुन कम्पनीको सेयर खरिद गर्ने उक्त कम्पनीको चुक्ता पुँजीको १५ प्रतिशतको सीमामै रहनुपर्ने छ।
त्यस्तै बीमा कम्पनीहरूले इन्भेष्टमेन्ट कम्पनीको सेयर खरिद गर्नका लागि रोकतोक नभएपनि यसमा विभिन्न सीमा लगाइएको छ। निर्देशनले कुल लगानीको ५ प्रतिशतभन्दा धेरै त्यस्ता कम्पनीको सेयरमा लगानी गर्न पाइने छैन। त्यस्तै त्यस्तो कम्पनी पब्लिक लिमिटेड हुनुपर्ने अर्को अनिवार्य सर्त रहेको छ।
त्यस्तै घरजग्गा व्यवसायमा पनि लगानीका लागि कुल लगानीको १० प्रतिशत क्याप छ। यस बाहेक स्थानीय तह, मालपोत कार्यालय र स्वतन्त्र मूल्यांकनकर्ताको गरेको मूल्यांकनभन्दा बाहिर गएर खरिद गर्न नपाइने छ।
यसबाहेक नेपाल सरकारले जारी गर्ने ऋणपत्र तथा बचतपत्रमामा ३५ प्रतिशतसम्म लगानी गर्न पाइनेछ। त्यस्तै निक्षेप राख्दा पनि वर्गअनुसारका संस्थाका लागि क्याप तोकिएको छ। यो सीमा पनि यसअघिकोभन्दा बढेको हो।
अन्य संस्थागत कम्पनीमा लगानी गर्नका लागि पब्लिक लिमिटेड कम्पनी हुनुपर्ने, कुल लगानीको १० प्रतिशतभन्दा धेरै हुन नहुने र एउटै परियोजनामा कुल लगानीको ५ प्रतिशतभन्दा धेरै गर्न नपाउने व्यवस्था गरिएको छ।
बीमा कम्पनीले यस्तो लगानीको सीमा प्रत्येक दिन कायम राख्नुपर्नेछ। यसरी लगानीको निर्देशन पालना भए नभएको बारेमा बीमा प्राधिकरणले सुपरीवेक्षण गर्नसक्नेछ।