शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

रानी जमरा कुलरिया सिँचाइ आयोजनाको कृषिकार्य क्षेत्र सात स्थानीय तहमा विस्तार

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, भदौ १८ २०८२
रानी जमरा कुलरिया सिँचाइ आयोजनाको कृषिकार्य क्षेत्र सात स्थानीय तहमा विस्तार

टीकापुर क्षेत्रबाट देशका १४ जिल्लामा उन्नत बीउ निर्यात हुँदै आएको छ भने आयोजनाले केराखेती विस्तारमा गरेको सहयोगले टीकापुरमा ४५० हेक्टर क्षेत्रमा केराखेती हुँदै आएको छ।

कैलाली- राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिँचाइ आयोजनाको कृषिकार्यक्षेत्र घोडाघोडी र भजनी नगरपालिका, जोशीपुर गाउँपालिका, तथा बर्दगोरिया गाउँपालिकासहित सात स्थानीय तहमा विस्तार भएको छ। 

कृषि कार्यक्रम कार्यान्वयन एकाइका प्रमुख भरतप्रसाद कँडेलका अनुसार विश्व बैंकको ऋण सहयोगमा तेस्रो चरणको कार्यक्रम कार्यान्वयन हुँदैछ। यो कार्यक्रमअन्तर्गत १८ हजार हेक्टरमा सिँचाइ सुविधा उपलब्ध हुनेछ। 

आयोजना कार्यान्वयन भएसँगै बिजवृद्धिमा प्रगति भएको छ। टीकापुर क्षेत्रबाट देशका १४ जिल्लामा उन्नत बीउ निर्यात हुँदै आएको छ भने आयोजनाले केराखेती विस्तारमा गरेको सहयोगले टीकापुरमा ४५० हेक्टर क्षेत्रमा केराखेती हुँदै आएको छ।

सागसब्जीखेतीबाट किसानलाई आत्मनिर्भर बनाएको छ। वसन्ते मकैखेती विस्तारमा आयोजनाले काम गरिरहेको छ भने किसानलाई आधुनिक कृषिमा आकर्षित गर्न यान्त्रिकीकरणमा सहयोग रहेको एकाइ प्रमुख कँडेल बताउँछन्।

आयोजनाको तेस्रो चरणमा चैते धान विस्तार, वसन्ते मकै उत्पादन, आलु उत्पादनलाई बढी प्राथमिकता दिएर किसानलाई सहयोग गर्ने तयारी गरेको छ। चैते धानको उत्पादन उत्साहवर्धक भइरहेको र आयोजनाले सिँचाइको पहुँच पुर्याउने भएकाले चैते धानको उत्पादन मनग्गे हुने आयोजनाको विश्वास छ। 

त्यसैगरी मकै उत्पादनमा जोड दिँदै पशुपन्छीको दानामा किसानलाई आत्मनिर्भर बनाउनतर्फ आयोजनाले ध्यान दिइएको छ भने आयोजनाले आलुखेतीलाई रणनीतिक बालीका रूपमा अगाडि बढाउने योजना रहेको प्रमुख कँडेलले बताए।

कृषि उपज भण्डारण गर्न एक हजार मेट्रिक टन क्षमताको शीतभण्डार निर्माण भएको छ। तेस्रो चरणको कार्यक्रम सन् २०३१ सम्म सञ्चालन हुनेछ। रासस


प्रकाशित : बुधबार, भदौ १८ २०८२१०:३२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend