काठमाडौं- उपप्रधान एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंह र विश्व बैंकका दक्षिण एसिया क्षेत्र हेर्ने उपाध्यक्ष जोहानेस जुटबीच भेटवार्ता भएको छ।सहरी विकास मन्त्रालयमा भएको भेटमा विश्व बैंक र मन्त्रालयबीच नयाँ परियोजनामा सहकार्यका बारेमा छलफल भएको छ।
बृहत्तर लुम्बिनी क्षेत्र विकास आयोजना र काठमाडौंमा सहरी भौतिक पूर्वाधार निर्माण, फोहोर मैला व्यवस्थापन, नदी स्वच्छतालगायतका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।
भेटमा उपप्रधानमन्त्री सिंहले सहरी विकास मन्त्रालयका आयोजनाहरुमा विश्व बैंकसँग भइरहेको सहकार्यका लागि आभार व्यक्त गर्दै नयाँ योजनाहरुमा पनि थप सहकार्य हुने विश्वास व्यक्त गरे।
यस्तै, उपाध्यक्ष जोहानेस जुटले मन्त्रालयले दुई स्थानमा केन्द्रित भएर योजना अघि बढाउन खोज्नु राम्रो भएको भन्दै सहकार्यका लागि विश्व बैंक सकारात्मक रहेको बताए। विश्व बैंकले लुम्बिनी, काठमाडौं उपत्यकाको सहरी पूर्वाधार, वातावरणीय प्रदूषण न्यूनीकरण र नदी र वायु स्वच्छताको क्षेत्रमा सहयोग गर्ने बताए।
यस भेटवार्ताले नेपाल सरकार र विश्व बैंकबीचको साझेदारीलाई अझ सुदृढ गर्ने विश्वास लिइएको छ।