शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

विदेशी पर्यटकको दर्ता तथा अनुगमन विद्युतीय प्रणालीमार्फत हुने

मंगलबार, भदौ १७ २०८२
विदेशी पर्यटकको दर्ता तथा अनुगमन विद्युतीय प्रणालीमार्फत हुने

विकसित प्रणालीको कार्यान्वयनमार्फत भिजिट भिसामा नेपाल आउने विदेशी नागरिकको बसाइ तथा गतिविधिको अभिलेख व्यवस्थित गर्न सहज हुने विश्वास लिइएको छ।

काठमाडौं- अध्यागमन विभागले ‘भिजिट भिसा’मा आउने विदेशी पर्यटकको दर्ता तथा अनुगमन विद्युतीय प्रणालीमार्फत गर्ने भएको छ। विभागले विदेशी नागरिक दर्ता तथा अनुगमन (ट्रयाकिङ) प्रणाली लागु गर्नेसम्बन्धी सूचना आज जारी गरेको हो।

विदेशी नागरिकको सुरक्षा, सूचनामा सहजीकरण, सम्भावित अपराध नियन्त्रण र नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने उद्देश्यले नयाँ प्रणालीको विकास गरिएको विभागका महानिर्देशक रामचन्द्र तिवारीले जानकारी दिए। विकसित प्रणालीको कार्यान्वयनमार्फत भिजिट भिसामा नेपाल आउने विदेशी नागरिकको बसाइ तथा गतिविधिको अभिलेख व्यवस्थित गर्न सहज हुने विश्वास लिइएको छ।

विभागले प्रणालीमा दर्ता हुने प्रक्रिया र ‘म्यानुअल’ पनि आफ्नो वेबसाइटमा राखेको छ। यससम्बन्धी थप जानकारी आवश्यक भएमा विभागको सूचना प्रविधि शाखा वा विभागमा सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ। उक्त प्रणालीको कार्यान्वयन सम्बन्धमा अनुगमन गर्न ७७ वटै जिल्लाका जिल्ला अनुगमन समितिलाई पत्राचार गरिसकिएको विभागले जनाएको छ।

विभागका अनुसार यस प्रणालीलाई पहिलो चरणमा आगामी असोज १ गतेदेखि काठमाडौँ उपत्यकाभित्रका तारे होटलहरूमा अनिवार्य लागु गर्न लागिएको छ। दोस्रो चरणमा आगामी मङ्सिर १ गतेदेखि सबै तारेहोटल, विमान कम्पनी, टुर्स एण्ड ट्राभल कम्पनी, मनी एक्सचेन्जमा लागु गरिनेछ।

विभागले विदेशी नागरिकलाई सेवा प्रवाह गर्ने सार्वजनिक संस्था तथा निजी कम्पनीलाई प्रणालीमा अनिवार्य रूपमा आबद्ध हुन अनुरोध गरेको छ। नयाँ प्रणाली लागु गर्नेबारे विभागले हालै होटल संघ नेपाललगायत सरोकारवालासँग छलफल गरेको थियो।

संघका अनुसार विगत लामो समयदेखि यो प्रणालीबारे छलफल भए पनि लागु हुन सकेको थिएन। नयाँ प्रणालीका विषयमा छिट्टै आधिकारिक धारणा ल्याइने संघले जनाएको छ। रासस


प्रकाशित : मंगलबार, भदौ १७ २०८२१४:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend