काठमाडौं- उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र विश्व बैंकका दक्षिण एसिया क्षेत्र हेर्ने उपाध्यक्ष जोहानेस जुटबीच शिष्टाचार भेटघाट भएको छ। अर्थ मन्त्रालयमा भएको भेटमा अर्थतन्त्र, सहरी भौतिक पूर्वाधार, लगानी, पर्यटन, वातावरणलगायतका विषयमा छलफल भएको छ।
अर्थमन्त्री पौडेलले गत वर्षको तुलनामा अर्थतन्त्रका सूचकहरुमा उल्लेखनीय सुधार आएको जानकारी दिँदै नेपालले नीतिगत, संरचनागत, निर्णय र कार्यान्वयन प्रक्रियामा सुधार गरेको बताए।
उनले विश्व बैंकले आगामी ६ वर्षका लागि तयार पारेको कन्ट्री पार्टनरसीप फ्रेमवर्क नेपालमा विकासको आवश्यकता र सरकारको प्राथमिकतासँग तादात्म्य रहेको उल्लेख गर्दै फ्रेमवर्कअनुसारका आयोजना तथा कार्यक्रम तर्जुमा गर्न सरकार विश्व बैंकसँग मिलेर काम गर्न चाहेको बताए।
अर्थमन्त्री पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रतिनिधिसभाबाट पारित भइ राष्ट्रियसभामा छलफलमा रहेको जानकारी गराउँदै विधेयक पारित भएसँगै निजी क्षेत्रसँग मिलेर प्रतिफल दिने आयोजनाहरुमा लगानी गर्ने बताए। उनले विधेयकको लक्ष्यअनुसार अघि बढ्न विश्व बैंकबाट सहयोगको अपेक्षा गरे।
विश्व बैंकका दक्षिण एसिया क्षेत्र हेर्ने उपाध्यक्ष जुटले नेपालमा उच्च आर्थिक वृद्धिदर हुनेगरी विश्व बैंकले सहयोग गर्ने बताए। उनले विश्व बैंकले लुम्बिनी, काठमाडौं उपत्यकाको सहरी पूर्वाधार, वातावरणीय प्रदूषण न्यूनीकरण र आर्थिक वृद्धिका लागि सहयोग गर्ने भन्दै निजी क्षेत्रलाई पनि साथमा लिएर अघि बढ्नुपर्ने धारणा व्यक्त गरे।
उपाध्यक्ष जुटले नेपालको अर्थतन्त्रका परिसूचकहरु सुधार हुनु सकारात्मक भएको उल्लेख गर्दै नेपालका लागि लगानी अझ बढाउन जरुरी भएको बताए। उनले वैकल्पिक विकास वित्त परिचाननसम्बन्धी कानून बनेसँगै पूर्वाधार क्षेत्रमा लगानीका लागि थप नयाँ क्षेत्रहरु पहिचान हुन सक्ने विश्वास व्यक्त गर्दै निजी क्षेत्रको लगानी आकर्षित गर्न र आर्थिक वृद्धिका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्न सहयोग पुर्याउने बताए। उनले लगानी र उत्पादकत्व वृद्धिमा केन्द्रित हुन पनि सुझाव दिएका थिए।