शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

झोलुङ्गे पुल बनेपछि यात्राअवधि छोट्टियो

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, फागुन १४ २०७८
झोलुङ्गे पुल बनेपछि यात्राअवधि छोट्टियो

म्याग्दी- धौलागिरि गाउँपालिका–४ नाउराको कोपिलाघाटस्थित म्याग्दी नदीमा झोलुङ्गे पुल निर्माण भएपछि यात्राअवधि छोट्टिएको छ। भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने नाउरा र चेचुङको सिमाना भएर बग्ने नदीमा बनेको पुलले जोखिमपूर्ण र घुमाउरो बाटोको यात्रा गर्नुपर्ने समस्या हटेको हो।

नाउराका बासिन्दा रिम रोकाले चार घण्टा घुमाउरो बाटोको यात्रा गर्नुपर्नेमा पुल बनेपछि एक घण्टामै पुग्न सकिने बताए।  ‘नाउरा–चेचुङ आवतजावत गर्न खिवाङ हुँदै चार घण्टा हिँड्नु पर्दथ्यो,’ उनले भने, ‘पुल बनेपछि एक घण्टामै पुग्न सकिन्छ। जङ्गल, भिर र खोल्साको जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हटेको छ।’

धौलागिरि गाउँपालिकाले नाउराको कोपिलाघाटमा ६७ मिटर लामो झोलुङ्गे पुल निर्माण गरेको हो।  ४० लाख ९४ हजार ४ सय ५ रुपैयाँको लागतमा निर्माण भएको कोपिलाघाटको झोलुङ्गे पुलबाट नाउरा र चेचुङका ३९ घरधुरी लाभान्वित भएक गाउँपालिकाका प्राविधिक दिलीप थापाले बताए।

धौलागिरि गाउँपालिकाले गत वर्ष सुरु गरेको सात वटामध्ये हालसम्म तीन वटा निर्माण सकिएका छन्। यसअघि वडा नम्बर ६ मराङको अस्कारे खोलामा  ३० लाख ५० हजारको लागतमा ३५ मिटर लामो ट्रस प्रविधिको पुल निर्माण भएको थियो। 

सो पुलबाट मल्कवाङ, मराङ, आरबाङ, हाङबाङ, औसीबाङ, भेडिखाल्टा र रघुगङ्गाको कुइनेका ७०० घरधुरी लाभान्वित भएका उपभोक्ता समितिका अध्यक्ष जित गर्बुजाले बताए।  

यसैगरी धौलागिरि गाउँपालिका–२ को आवासखोलामा  ३२ लाख ४१ हजार ८ सय ५९ को लागतमा निर्माण भएको ३२ मिटर ट्रस पुलबाट खोरियाका १ सय  घरधुरी लाभान्वित भएका छन्।

पुल निर्माण भएपछि बर्खायाममा जोखिम मोलेर आवतजावत गर्नुपर्ने बाध्यता हटेको छ। पुल निर्माणका लागि टिबिएसयुको स्वाप कार्यक्रमले लठ्ठा र बुल्डअपग्रिप उपलब्ध गराएको थियो। गाउँपालिकाले स्टिल डेग खरिद र ढुवानी गरेको हो। रासस


प्रकाशित : शनिबार, फागुन १४ २०७८०७:१५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend