शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

जलवायु परिवर्तनले चौँरीपालन व्यवसाय संकटमा

सोमबार, भदौ १६ २०८२
जलवायु परिवर्तनले चौँरीपालन व्यवसाय संकटमा

पहिले चौँरीका लागि पाइने पोषणयुक्त घाँस अचेल मौसम परिवर्तनकै कारण विलय भएको चौँरीपालक किसानको भनाइ छ।

चौतारा- जलवायु परिवर्तनको असरका कारण सिन्धुपाल्चोकका उच्च हिमाली क्षेत्रमा गरिँदै आएको चौँरीपालन व्यवसाय अहिले संकटमा पर्न थालेको छ। तीन हजारदेखि ६ हजार मिटर उचाइको हावापानी भएको हिमाली खर्कमा वर्षौँदेखि चल्दै आएको घुम्ती गोठ प्रणाली पछिल्लो समय क्रमशः घट्दै गएको छ।

वैदेशिक रोजगारमा युवाको आकर्षण बढ्नुका साथै चरन क्षेत्रमा घाँसको कमी, मौसम परिवर्तनजस्ता कारणले घुम्ती गोठमार्फत चौँरी, याक तथा भेडापालन गर्नेहरु कम हुँदै गएका हुन्।

खर्कमा चौरी र याकसँगै फिरन्ते जीवन बिताउने सिन्धुपाल्चोक जुगल गाउँपालिका तेम्बाथनका पासाङ शेर्पालाई हिमाली क्षेत्रमा आएको मौसमी परिवर्तनका कारण यो पेसामा चुनौती बढेको छ। खर्कमा पहिलेजस्तो घाँस नपाइने भएका कारण चौरीलाई घाँस पुर्‍याउन हम्मेहम्मे पर्दा चौँरीपालन व्यवसाय संकटमा परेको शेर्पा बताउँछन्।

पासाङको अनुभवमा हिमाली क्षेत्रमा पहिलेको तुलनामा चिसो छैन। 'हिमालमा हिउँ छैन, त्यसैले चिसो नभएको हुनसक्छ', उनी भन्छन्। पहिले-पहिले बाह्रैमास हिउँले टल्कने हिमाल अहिले काला पहाडमा परिणत भएको उनले सुनाए।

पाँचपोखरी क्षेत्रको खर्कमा हुर्केर आफ्नो जीविका चौँरी तथा भेडागोठले धानेका लाङगर्चेका ईन्द्रबहादुर गुरुङ भने यो पेसाबाट पलायन भए। उनका छोराछोरी कोही काठमाडौंतिर पढ्न गएका छन् त कोही वैदेशिक रोजगारीमा खाडी मुलुक पुगेका छन्।

चौँरी, भेडा धमाधम मर्न थालेपछि ईन्द्रबहादुरको पुस्तौँदेखिको आयस्रोतको यो पेसामा पूर्णविराम लागेको हो। पहिलेजस्तो मौसम अनि चौँरी तथा भेडाका लागि चरनयोग्य सामग्री नहुँदा आफूले पेसाबाटै विश्राम लिएको उनी बताउँछन्।

चौँरी, याक र भेडाका लागि लेकाली क्षेत्रमा जंगलबीचको खर्कमा गोठ बनाएर त्यही घाँस पानी गर्ने प्रचलन छ। पहिले चौँरीका लागि पाइने पोषणयुक्त घाँस अचेल मौसम परिवर्तनकै कारण विलय भएको चौँरीपालक किसानको भनाइ छ।

मौसम चौँरीअनुकुल नभएपछि घाँसको अभाव हुने, अन्य चरनयोग्य प्राकृतिक दाना नपाइने हुँदा चौँरी मर्न थालेको अर्का किसान दलु लामा बताउँछन्। विभिन्न रोगले पशु मर्नुका साथै उत्पादन सस्तोमा किनेर महँगोमा बिक्री गर्ने व्यापारीका कारण पुस्तौँदेखि गर्दै आएको यो पेसाप्रति युवा पुस्तामा निराशा बढ्दै गएको लामाको भनाइ छ।

वर्षको तीन महिना जाडो समयमा मात्र मानवबस्ती छेउछाउ पुग्ने उनीहरु अधिकांश समय हिमाली खर्कमा बिताउँछन्। सिन्धुपाल्चोकको लेकाली भेगका तामाङ र शेर्पा समुदायका नागरिकको मुख्य आम्दानीको स्रोत चौरीको दूधबाट बन्ने चीज,  छुर्पी, नौनी घिउ तथा भेडाको रौँबाट बन्ने राडीपाखीलगायतका सामग्री हुन्।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका, भोटेकोसी, जुगल, पाँचपोखरी र हेलम्बु गाउँपालिकामा चौरीपालन हुने गरेको छ। स्थानीय पालिकाको कृषि तथा पशु शाखाका अनुसार खर्कमा चौरी तथा भेडापालन गर्ने किसानको सङ्ख्या जिल्लामा एकसय ३१ छ। चौरी, याक र भेडाको संरक्षण गर्न सिन्धुपाल्चोकका पालिकाले बिमा कार्यक्रम ल्याएका छन्।

वैदेशिक रोजगारीभन्दा राम्रो आम्दानीको क्षेत्र बन्नसक्ने यो क्षेत्रलाई व्यावसायिक बनाउन प्रयत्न गरिरहेको पाँचपोखरी थाङपाल गाउँपालिका अध्यक्ष टासी लामा बताउँछन्।

पालिकाको प्रयासका बावजुद पनि सिन्धुपाल्चोकका लेकाली खर्कमा अहिले चौरी गोठ घट्दै गएको छ। अझै परम्परागतरुपमै भइरहेका पशुपालनलाई आधुनिक बनाउन सकिएको छैन। राज्य तहबाट पनि यो पेसालाई प्रोत्साहन नगरिएको हुँदा चाहेर पनि स्थानीयले यो पेसालाई परम्परागतभन्दा माथि लैजान सकेका छैनन्। रासस


प्रकाशित : सोमबार, भदौ १६ २०८२१४:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend