सङ्खुवासभा- लगातारको वर्षाले उत्तर-दक्षिण कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको भोटखोला गाउँपालिका जाने उत्तर-दक्षिण सडक अवरुद्ध भएको छ।
वर्षासँगै आएको पहिरोले उत्तर-दक्षिण कोशी राजमार्गअन्तर्गत मकालु गाउँपालिका-३ सम्माटारनेता भिरमा पहिरो खसेपछि सडक अवरुद्ध भएको उत्तर-दक्षिण सडक कार्यालयका सूचना अधिकारी इन्जिनियर नरेश जिरेलले बताए। भोट खोला र मकालबीचमा पहिरोले सडक बगाएपछि यातयात सेवा अवरुद्ध भएको हो।
उत्तर-दक्षिण कोशी राजमार्गको मकालु-३ स्थित सम्माटार नेताभिरमा गएराति वर्षासँग आएको बाढीले करिब पाँचसय मिटरको सडक बगाएको सडक कार्यालयका सूचना अधिकारी जिरेलले बताए। पहिरो हटाउन सडक कार्यालयका दुईवटा एक्साभेटर परिचालन गरिएको सूचना अधिकारी जिरेलले बताए।
माथिल्लो क्षेत्रमा अहिले पनि लगातार वर्षा भइरहेको छ। वर्षा नरोकिएसम्म पहिरो हटाउन सकिने अवस्था नभएको सडक कार्यालयका सूचना अधिकारी जिरेलले जानकारी दिए। पहिरो हटाउन अझै कति दिन लाग्छ भन्ने यकिन भइनसकेको उनको भनाइ छ।
पहिरो खसेपछि भोटखोलाबाट खाँदबारी आउने यातायातका साधन वारपार हुन सकेका छैनन्। खाँदबारीबाट गएका सवारीसाधन पनि बाटैमा अलपत्र परेका छन्। सडकखण्ड अवरुद्ध भएपछि मकालु गाउँपालिका केही वडा र भोटखोला गाउँपालिकामा यातायात सेवा बन्द भएको छ।
सडक अवरुद्ध भएपछि भोटखोला गाउँपालिकासँगसम्बन्ध टुटेको छ। अहिले सदरमुकाम खाँदबारीबाट भोटखोला जाने यातायात मकालु गाउँपालिकाको फ्याक्सिन्दासम्म मात्रै चलेका छन्। रासस