शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

बाढीले कञ्चनपुरमा ४५ घर डुबानमा, महाकालीको जलस्तर बढेसँगै शारदा ब्यारेजमा सवारीसाधन आवागमन रोक

सोमबार, भदौ १६ २०८२
बाढीले कञ्चनपुरमा ४५ घर डुबानमा, महाकालीको जलस्तर बढेसँगै शारदा ब्यारेजमा सवारीसाधन आवागमन रोक

भीमदत्त नगरपालिका-११ स्थित भुजेलामा पनि पाँच घर डुबानमा परेका छन्।

कञ्चनपुर- आइतबार रातिदेखिको अविरल वर्षाका कारण कञ्चनपुरमा ४५ घर डुबानमा परेका छन्। भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकाका नदीमा आएको बाढी बस्तीमा पस्दा ४५ घर डुबानमा परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले दोधारा चाँदनी नगरपालिका-८ स्थित रामपुरे टोल र जर्गा टोलमा जोगबुढा नदीको बाढी पस्दा २५ घर डुबानमा परेको बताए।

त्यसैगरी, दोधारा चाँदनी नगरपालिका-३ स्थित पटराखल्लाका १५ घर डुबानमा परेका छन्। उनका अनुसार भीमदत्त नगरपालिका-११ स्थित भुजेलामा पनि पाँच घर डुबानमा परेका छन्। 'दोधारा चाँदनीमा जोडबुढा नदी बस्तीमा पस्दा २५ घर डुबानमा पर्दा ७० जना विस्तापित भएका छन्, उहाँहरूलाई नजिककैको विद्यालयमा राखिएको छ', उनले भने, 'डुबानमा परेका परिवार र चौपायालाई सुरक्षित स्थानमा सारिएको छ।'

दोधारा चाँदनी नगरपालिका-३ पटराखल्लाका घरपरिवारका ५५ जना, उनका सरसामान र चौपायासमेत नजिककैको जमुना आधारभूत विद्यालयमा राखिएको उनले बताए।

महाकालीमा बढ्यो जलस्तर

अविरल वर्षापछि महाकाली नदीको जलस्तर बढेको छ। जलस्तर बढेसँगै भारतीय पक्षले शारदा ब्यारेजमा चारपांग्रे र तीनपांग्रे सवारीसाधन आवागमन रोक लगाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले नदीमा पानीको सतह बढेर एक लाख ४० हजार २५० क्युसेक पुगेको बताए।

नदीमा पानीको बहाव एक लाख क्युसेक पुगेपछि भारतीय पक्षले आवागमनमा रोक लगाउँदै आएको छ। रासस


प्रकाशित : सोमबार, भदौ १६ २०८२१३:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend