शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

टेस्लाले चीनमा कार उत्पादन क्षमता बढाएर वार्षिक २० लाख पुर्‍याउने

शनिबार, फागुन १४ २०७८
टेस्लाले चीनमा कार उत्पादन क्षमता बढाएर वार्षिक २० लाख पुर्‍याउने

टेस्लाले नयाँ प्लान्टबाट सातामा २२ हजार कार उत्पादन गर्ने योजना बनाएको छ। 

काठमाडौं- विश्वको सबैभन्दा ठूलो कार बजार चीन ठूला कार उत्पादकका लागि आकर्षणको केन्द्रमा हुने गरेको छ। कार उत्पादकहरु चीनमा स्थानीय कम्पनीसँग साझेदारी गरेर प्रवेश गर्दै आएका थिए। पछिल्लो समय चीनले स्थानीय साझेदार बिनानै कार उत्पादकलाई प्रदेश दिन थालेको हो।

चीनमै पनि सयौं सवारी उत्पादकहरु छन्। अझ विद्युतीय सवारी उत्पादन र त्यसका लागि चाहिने मुख्य कुरा ब्याट्री त झनै चीन अग्रपंक्तिमा छ। त्यसका बीच अमेरिकी विद्युतीय कार उत्पादक टेस्लाले चीनमा गत वर्षदेखि कार उत्पादन थालेको हो। 

चीनमा विद्युतीय कार उच्च प्राथमिकतामा रहेकैले टेस्लाले अमेरिका बाहिर पहिलो गिगा फ्याक्ट्री चीनमै बनाएको हो। हालै टेस्लाले चीनको सांघाईमा रहेको गिगा फ्याक्ट्री विस्तार गर्ने योजना सार्वजनिक गरेको रोयटर्सले लेखेको छ। चीनमै विद्युतीय कारको माग बढ्दै गएको र एसियाली तथा युरोपेली बजारलाई लक्षित गरेर निर्यात बढाउने उद्देश्यले प्लान्ट विस्तार गर्न लागेको जनाएको छ। 

सांघाईमै बन्ने विस्तारित प्लान्ट समेत सञ्चालनमा आउँदा चीनबाट मात्र टेस्लाले वार्षिक २० लाख कार उत्पादन गर्ने छ। टेस्लाको दोस्रो प्लान्ट पुडोङ न्यु एरियामा हुनेछ। 

टोयोटा मोटरले २०२१ मा चीनमा १६ लाख कार उत्पादन गरेको थियो। जनरल मोटर्सले चिनियाँ साझेदार एसएआईसीसँगको मिलेर १४ लाख वटा कार उत्पादन गरेको थियो। २०२३ भित्र फक्सवागनले चीनमा वार्षिक १० लाख विद्युतीय कार उत्पादन गर्ने लक्ष्य लिएको छ। 

सांघाईमा रहेको प्लान्टबाट टेस्लाको मोडल थ्री सेडान र मोडल वाई क्रसओभर उत्पादन गर्ने योजना बनाएको छ। हाल चीनमा रहेको प्लान्टबाट वार्षिक करिब १० लाख कार उत्पादनको क्षमता रहेको छ। 

टेस्लाले नयाँ प्लान्टबाट सातामा २२ हजार कार उत्पादन गर्ने योजना बनाएको छ। 

टेस्लाले २०२१ मा विश्वभर ९ लाख ३६ हजार कार बिक्री गरेको थियो। त्यसमा चिनियाँ प्लान्टको समेत उल्लेख्य हिस्सा रहेको छ। टेस्लाले चीनपछि जर्मनीमा समेत गिगा फ्याक्ट्री बनाइसकेको छ। तर विभिन्न कारणले उक्त प्लान्ट सञ्चालनमा आउन भने सकेको छैन। 

टेस्लाका कारको माग विश्वभर नै रहेको छ। भारतमा समेत आउने योजना बनाएको टेस्लाले भारत सरकार माग पुरा नगर्दा हालसम्म ठोस निर्णय भने गरेको छैन। यता नेपाली बजारमा पनि टेस्लाका कार उपलब्ध रहेको छ।


प्रकाशित : शनिबार, फागुन १४ २०७८१०:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend