काठमाडौं- हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको र अरब सागरबाट जलवाष्पयुक्त हावाको प्रवाह भइरहेकाले नेपालमा वर्षाको प्रभाव देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार सोमबार बिहान सुदूरपश्चिम प्रदेशका विभिन्न भूभागहरूमा वर्षा भइरहेको छ। कञ्चनपुरको दोधारामा पछिल्लो एक घन्टामै ३९.८ मिलिमिटर, डोटीको गैरामा १५ मिलिमिटर, डडेलधुराको साहुखर्कमा १०.८ मिलिमिटर वर्षा भएको छ। बैतडी, बझाङ लगायतका जिल्लामा पनि वर्षा भइरहेको विवरणमा उल्लेख छ।
दिउँसो देशभर साधारणतया बदली रहने अनुमान गरिएको छ। कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ भने बाँकी पहाडी र तराई भू-भागका थोरै स्थानमा समेत वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।
त्यस्तै बागमती र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको चेतावनी महाशाखाले दिएको छ।
राति पनि देशभर साधारणतया बदली रहनेछ। सुदूरपश्चिम प्रदेशका केही स्थानमा, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका पहाडी भू-भागमा र बाँकी तराई भू-भागका एक-दुई स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। रासस