शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

रसुवागढी क्षेत्रमा सुक्खा पहिरो जाँदा घरटहरामा क्षति, एकजना घाइते

आइतबार, भदौ १५ २०८२
रसुवागढी क्षेत्रमा सुक्खा पहिरो जाँदा घरटहरामा क्षति, एकजना घाइते
फाइल तस्बिर

रसुवागढी पूर्वतर्फको पहाडबाट झरेको सुक्खा पहिरोले गत असार २४ पछि सडक अवरूद्ध भएको छ।

रसुवा- रसुवागढी क्षेत्रमा आज गएको सुक्खा पहिरोका कारण एक युवा घाइते भएका छन् भने केही घरटहरामा क्षति पुगेको छ।

जिल्ला प्रहरी प्रमुख हेमबहादुर शाहीका अनुसार स्थानीय ‘वर्कसप’मा काम गर्ने पर्सा जिल्ला पटेरूवा सुगौली गाउपालिका-२ का करिब १९ वर्षीय विमलदास थारू सुक्खा पहिरोमा परी घाइते भएका हुन्। टाउको र छातिमा गम्भीर चोट लागेका उहाँको जिल्लास्थित स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौं पठाइएको छ।

रसुवागढी पूर्वतर्फको पहाडबाट झरेको सुक्खा पहिरोले गत असार २४ पछि सडक अवरूद्ध भएको छ। यसैगरी, गढी इलाकामा रोकिएका स्काभेटर, ट्रयाक्टर, कन्टेनर, स्कारपियो जीप, सुरक्षाकर्मी बस्ने प्रिफेब भवन, सीमा क्षेत्रस्थित ‘हेल्थ डेस्क’ र चिया पसलमा क्षति पुगेको जिल्ला प्रहरी प्रमुख शाहीले जानकारी दिए।

सीमा सुरक्षाका लागि रसुवागढी नाकामा तैथान सुरक्षाकर्मी पहिरो आउन थालेपछि ल्हेन्देखोलाको बगरतर्फ भागेर बच्न सफल भएको प्रहरीले जनाएको छ।

हिमताल फुटेर ल्हेन्देखोलामा आएको बाढीबाट त्रसित यहाँका स्थानीय, व्यावसायी, राष्ट्रसेवक कर्मचारी एवं सुरक्षाकर्मी, मजदूर र पैदलयात्रुले समेत सुक्खा पहिरोका कारण पुनः असुरक्षित हुनुपरेको गुनासो गरेका छन्।

यसैगरी, सुक्खा बन्दरगाह क्षेत्रसहित रसुवागढी आसपासमा रहेका चारपांग्रे सवारीसाधनमा पहिरोले क्षति पुर्‍याउन सक्ने भन्दै समयमै उचित व्यवस्थापन गर्न अनुरोध गरिएको छ। रासस


प्रकाशित : आइतबार, भदौ १५ २०८२१७:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend