काठमाडौं- बाढीपहिरोका कारण अवरुद्ध ८ सडक सरकारले तत्काल खुलाउने भएको छ। उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले बाढीपहिरोका कारण अवरुद्ध बनेका सडक खुलाएर तत्काल आवतजावत सहज बनाउन निर्देशन दिएका छन्।
आज सहरी विकास मन्त्रालयमा मन्त्री सिंहको अध्यक्षतामा बसेको बैठकमा उनले सडक अवरुद्ध हुँदा नागरिकलाई समस्या हुने भन्दै तत्कालै समस्या आएका ठाउँमा समाधान गर्नेगरि काम गर्नुपर्ने बताए।
बैठकमा गृह मन्त्रालयअन्तर्गतको विपद् पूर्वतयारी प्रतिकार्य शाखाले वर्षाका कारण अवरुद्ध हुन पुगेका सडकहरुबारे तयार गरेको विवरण मन्त्री सिंहलाई जानकारी गराइएको थियो।
हाल पासाङल्हामु राजमार्गअन्तर्गत रसुवा गोसाइकुण्ड गाउँपालिका २ टिमुरे, अरनिको राजमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका-२कोदारी र घट्टेखोला, बेनी-जोमसोम सडकखण्डअन्तर्गत रघुगंगा गाउँपालिका दुई खोलीमा सडक अवरुद्ध छ।
त्यस्तै, घोराही थवाङ शहीदमार्गअन्तर्गत त्रिवेणी गाउँपालिका, भेरि करिडोरअन्तर्गत त्रिपुरासुन्दरी नगरपालिका छलघाट, कर्णाली राजमार्गअन्तर्गत शुभकालीन गाउँपालिका र भेरि करिडोरअन्तर्गत आठविसकोट नगरपालिकामा सडक अवरुद्ध छ।
त्यस्तै, मन्त्री सिंहले विपद्सम्बन्धी पूर्वसतर्कताका लागि यसअघि म्यासेज पठाउने गरिएकोमा अबदेखि भ्वाइस कल गर्ने व्यवस्थाका लागि पनि आवश्यक व्यवस्था मिलाउन निर्देशन दिए।