शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

‘ऊर्जा क्षेत्रमा लगानीको वातावरण सिर्जना गर्न सरकार प्रयासरत छ’

आइतबार, भदौ १५ २०८२
‘ऊर्जा क्षेत्रमा लगानीको वातावरण सिर्जना गर्न सरकार प्रयासरत छ’

'सरकारले निजी क्षेत्रसँग सहकार्य र समन्वय गर्दै मुलुकको आर्थिक विकासमा अगाडि बढेको छ, विकास निर्माणमा अवरोध देखिएका कानूनलाई समयअनुसार संशोधन गर्दै अगाडि बढेका छौँ', उनले भने।

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ऊर्जा क्षेत्रमा लगानीको वातावरण निर्माण गर्न सरकार प्रयासरत रहेको बताएका छन्।

सुदूरपश्चिम प्रदेशमा आगामी मङ्सिर १ र २ गते धनगढीमा गर्न लागेको ‘सुदूरपश्चिम प्रदेश लगानी तथा विकास सम्मेलन’को विषयमा आज ऊर्जा मन्त्रालयमा आयोजित कार्यक्रममा उनले ऊर्जा क्षेत्रको विकासका लागि मन्त्रालयले नीतिगत सुधारलाई उच्च प्राथमिकतामा राखेको बताए।

'संविधान निर्माणपछि हामी कानून निर्माणको चरणमा छौँ, जुन गतिमा कानून निर्माण हुनुपर्ने हो त्यो अझै हुन सकेको छैन, ऊर्जा क्षेत्रको विकासका लागि सरकारले नीतिगत सुधारलाई उच्च प्राथमिकतामा राखेको छ', उनले भने।

मन्त्री खड्काले मुलुक संघीयतामा गएपछि सबै प्रदेशले आफ्ना प्रदेशलाई कसरी सशक्त र सबलीकरण गर्न सकिन्छ भनेर चासो र चिन्ता लिनु सकारात्मक पक्ष भएको धारणा राखे। 'सरकारले निजी क्षेत्रसँग सहकार्य र समन्वय गर्दै मुलुकको आर्थिक विकासमा अगाडि बढेको छ, विकास निर्माणमा अवरोध देखिएका कानूनलाई समयअनुसार संशोधन गर्दै अगाडि बढेका छौँ', उनले भने।

ऊर्जामन्त्री खड्काले विकास निर्माणलाई अगाडि बढाउन संघ र प्रदेश सरकारद्वारा निर्मित कानूनबीच तालमेल हुनु जरुरी रहेको बताए। उनले जलविद्युत् निर्माणका क्रममा वन र जग्गा प्राप्ति समस्याका रूपमा रहेको भन्दै यसलाई समाधान गर्न तीनै तहका सरकारबीच समन्वय हुनु आवश्यक रहेको उल्लेख गरे।

मन्त्री खड्काले विकास निर्माणका क्रममा देखिने समस्यालाई कानूनी विधिअनुसार समाधान गर्नुपर्नेमा जोड दिए। उनले मुलुकमा भएका स्रोतसाधनलाई अधिकतम प्रयोग गर्दै समृद्ध मुलुक निर्माणमा सरकारले काम गरिरहेको उल्लेख गरे। मन्त्रालयले ऊर्जा क्षेत्रमा थुप्रै नीतिगत निर्णय गरेर अगाडि बढ्न चाहेको उनको भनाइ छ।

ऊर्जामन्त्री खड्काले विद्युत् क्षेत्रको विकासका लागि निजी क्षेत्रलाई उत्पादनसँगै प्रसारणलाइन निर्माण र विद्युत् खरिदबिक्रीसम्म गर्ने व्यवस्था मिलाउन लागिएको बताए। सरकारले नीतिगत सुधार गर्दै प्रभावकारी काम गरिरहेको उनको भनाइ छ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिमको विकास र समृद्धिका लागि लगानी सम्मेलन आयोजना गर्न लागिएको बताउँदै उक्त सम्मेलनमा जोडिन सबैलाई आग्रह गरे। उनले लगानी सम्मेलनलाई सफल पार्न केन्द्र सरकारको साथ र सहयोग आवश्यक पर्नेमा जोड दिए।

'लगानी सम्मेलन लगानीमा मात्र केन्द्रित नभइ मुलुकलाई केही दिन सकिन्छ की भनेर लागिरहेका छौँ, प्रदेशको विकास र रोजगारी प्रदान गर्ने बाटोमा हामी इमान्दारपूर्वक लागिरहेका छौँ', उनले भने। 

सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव डा कमल पोखरेलले सुदूरपश्चिम सबै क्षेत्रमा प्रशस्त सम्भावना भएको प्रदेश भएकाले उक्त स्रोतको समुचित प्रयोग गरी समृद्ध मुलुक बनाउनका लागि सम्मेलन आयोजना गरिएको जानकारी दिए।

धनगढीको सिटी हलमा दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा उद्घाटन सत्रका साथै विकास निर्माण्, लगानीका सम्भावनाबारे विभिन्न बैठक र सम्झौता गरिने कार्यक्रम छ। सुदूरपश्चिम प्रदेशमा हाल आठ हजार २४१ मेगावाटका १०८ जलविद्युत् आयोजना कुनै न कुनै रूपले अगाडि बढिरहेका विद्युत् विकास विभागका महानिर्देशक जीवछ मण्डलले जानकारी दिए।

छलफलमा सुदूरपश्चिम प्रदेशमा ऊर्जा क्षेत्रको विकास गरिरहेका कम्पनीहरूले ऊर्जा क्षेत्रको विकासमा भोग्नुपरेका प्रसारणलाइन, जग्गा प्राप्ति, वनलगायत समस्याका बारेमा जानकारी गराएका थिए। रासस


प्रकाशित : आइतबार, भदौ १५ २०८२१६:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend