शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती

आइतबार, भदौ १५ २०८२
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती

अर्चले कृषक समूहमा आबद्ध भएका २५ जना किसानले २२ रोपनीमा व्यावसायिक खुर्सानीखेती गरेका हुन्।

तनहुँ- जिल्लाको ऋषिङ गाउँपालिका-८ अर्चलेका किसानले सामूहिकरूपमा पहिलोपटक अकबरे खुर्सानीखेती थालेका छन्। अर्चले कृषक समूहमा आबद्ध भएका २५ जना किसानले २२ रोपनीमा व्यावसायिक खुर्सानीखेती गरेका हुन्।

उत्पादित खुर्सानी प्रतिकिलो २५० देखि ३५० रूपैयाँसम्म बिक्री हुने गरेको समूहका सदस्य गञ्जसिं गुरुङले जानकारी दिए। उनले भने, 'पहिलो चरणमा एक हजार किलो खुर्सानी बिक्री गरिसकिएको छ, बिक्रीका लागि बजारको समस्या छैन, तर मूल्य उचित पाउन सकिरहेका छैनौँ।'

उत्पादित खुर्सानी जिल्लाको भीमाद, दुलेगौँडादेखि पोखराका बजारमा बिक्री गर्दै आइएको किसान बताउँछन्। पहिलो चरणमा दुई लाख रूपैयाँभन्दा बढीको खुर्सानी बिक्री गरिसकिएको कृषक समूहले जनाएको छ। 

गाउँपालिकाले खुर्सानका बेर्ना र सिँचाइका लागि ७५ प्रतिशत अनुदान सहयोग गरेको थियो। सुरुमा सामूहिक रूपमा ६ लाख रूपैयाँ लगानी गरिएको समूहका अध्यक्ष मिनबहादुर गुरुङले बताए। बैशाखको अन्तिम साता बिरुवा ल्याएर खेती थालिएको बताउँदै उनले भने, 'बिरुवा लगाएको दुई महिनामा फल्न सुरु भएको छ, अब दोस्रो चरणको बिक्रीका लागि तयारी भइरहेको छ।'

ऋषिङ साना किसान कृषि सहकारी संस्थाका अध्यक्षसमेत रहेका गञ्जसिंले पशुपालन र कृषि व्यवसायका लागि किसानलाई सहुलियत दर (सात प्रतिशत)मा ऋण उपलब्ध गराउँदै आएको बताए। 'गाउँका युवा विदेसिनेक्रम बढ्दै गएको अवस्थामा युवालाई स्वदेशमा बसेर काम गर्ने वातावरण र रोजगार सिर्जना गर्ने पहल थालेका हौँ', उनले भने।

उत्पादनका लागि यहाँको माटो उर्वरायुक्त रहेकाले जे खेती लगाउँदा पनि प्रशस्त आम्दानी लिन सकिने किसान बताउँछन्। जमिन बाँझो नराख्ने अभियानअन्तर्गत १४० रोपनीमा सुन्तलाखेती सुरुआत गरिसकिएको समूहका सदस्य गञ्जसिंले बताए। उनले भने, 'एक हजार सुन्तलाका बिरुवा लगाइसकिएको छ, तीन हजार बिरुवा लगाउने योजनासहित अघि बढेका छौँ।' रासस


प्रकाशित : आइतबार, भदौ १५ २०८२१२:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend