काठमाडौं- बैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल तीन हजार २८१ वटा विपद्का घटना घटेका छन्। ती घटनामा परेर दुईसय सातजनाको निधन भएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपद्मा परेर २२ जना बेपत्ता भए भने सातसय ७४ जना घाइते भएका छन्। त्यसबाट पाँच हजार ९६३ परिवार प्रभावित भएका छन्।
प्राधिकरणका अनुसार सो अवधिमा घटेका विपद्का घटनामा सबैभन्दा धेरै आगलागी भएको छ। कुल एक हजार १९७ आगलागीका घटना भएका छन्। आगलागीमा परेर १५ जनाको निधन हुँदा एकसय ६५ घाइते भएका छन्।
बाढीका दुई सय ४३ घटना हुँदा २७ जनाको ज्यान गएको छ भने २२ बेपत्ता र १० घाइते भएका छन्। बाढीमा परेर एक हजार ७७८ परिवार प्रभावित भएका छन्। सो अवधिमा तीनसय ६८ ठाउँमा पहिरो गएको छ। पहिरोमा परेर १८ जनाको निधन भएको छ भने २८ जना घाइते भएका छन्। पहिरोका कारण चारसय ८१ परिवार प्रभावित भएका छन्।
यस्तै, दुईसय ६६ वटा भारी वर्षाका विवरण प्राधिकरणले उपलब्ध गराएको छ। भारी वर्षाका कारण ६ जनाको ज्यान जाँदा १२ घाइते भएका छन् भने सातसय ११ परिवार प्रभावित भएका छन्। कुल दुईसय ५८ चट्याङका घटना हुँदा ३१ जनाको ज्यान गएको छ। त्यसमा परेर एकसय ९३ जना घाइते भएका छन् भने तीनसय १७ घरपरिवार प्रभावित भएका छन्।
यसैगरी सर्पदंशका दुईसय ६८ घटना हुँदा ७२ जनाको ज्यान गएको छ। दुईसय दुईजना घाइते हुँदा दुईसय ७२ घरपरिवार प्रभावित भएका छन्। कुल एकसय ५८ वटा वन डढेलोको घटना हुँदा दुईजना घाइते र २७ परिवार प्रभावित भएका छन्। हुरीबतासका दुईसय ८० घटना हुँदा आठजनाको निधन भएको छ भने ४१ जना घाइते भएका छन्। त्यसबाट पाँचसय ३६ घरपरिवार प्रभावित भएका छन्।
प्राधिकरणका अनुसार जनावर आक्रमणको घटनामा १५ जनाको निधन भएको छ। लेक लाग्नुका ४९, भूकम्प पाँच, डुंगा पल्टेर दुई, असिना र माहामारीका एक-एक घटना घटेका छन्। प्राधिकरणले विपद्सँग जुध्नका लागि आवश्यक सतर्कता र सावधानी अपनाउन आग्रह गर्नुका साथै आवश्यक तयारीसमेत गरेको छ। रासस