शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

निगुरो बिक्रीबाट घरखर्च चलाउन सहज

आइतबार, भदौ १५ २०८२
निगुरो बिक्रीबाट घरखर्च चलाउन सहज

सडकको पहुँच विस्तार भएपछि यहाँका स्थानीयले निगुरो बिक्रीबाट आम्दानी गर्न थालेका हुन्। दुर्गम क्षेत्रको खोलाखोल्सी तथा वनपाखामा पाइने निगुरो ठूला सहरहरुमा पुग्न थालेको छ।

भोजपुर- गाउँघरका खोलाखोल्सीमा पाउने निगुरो यहाँका स्थानीयको आम्दानीको स्रोत बनेको छ। सडकको पहुँच विस्तार भएपछि यहाँका स्थानीयले निगुरो बिक्रीबाट आम्दानी गर्न थालेका हुन्। दुर्गम क्षेत्रको खोलाखोल्सी तथा वनपाखामा पाइने निगुरो ठूला सहरहरुमा पुग्न थालेको छ।

टेम्केमैयुङ-५ चोलन्ती, मझौले गाउँका स्थानीयले वनजंगलबाट संकलन गरेको निगुरो धरान, इटहरी, विराटनगर, झापा, काठमाडौंलगायत सहरमा जाने गरेको टेम्केमैयुङ-५ का स्थानीय डम्बरबहादुर विष्टले बताए।

विगतमा त्यत्तिकै वनपाखा, खोलाखोल्सीमा खेर गइरहेका निगुरोले अहिले गाउँघरमा नै राम्रो मूल्य पाउने गरेको उनको भनाइ छ। निगुरो लिनका लागि ठेकेदार गाडी लिएर नै गाउँघरमा पुग्ने गरेका छन्।

'यहाँका वनपाखामा पाइने निगुरो बिक्री हुन थालेको छ', उनले भने, 'सडक विस्तार भएपछि बेचबिखन गर्न सहज छ। बर्सेनि यो याममा संकलन गरेर बिक्री गर्दै आएका छौँ। निगुरो बिक्रीबाट घरखर्च चलाउन सहज छ।'

संकलन गरिएको निगुरो प्रतिकेजी ४० रूपैयाँ सम्ममा घरबाट नै ठेकेदारले लैजाने गरेका छन्। पात भएको भन्दा डाँठमात्र भएको निगुरोले राम्रो मूल्य पाउने स्थानीय लालबहादुर विष्टले बताए। निगुरो बिक्रीबाट परिवारको घरखर्च धान्न सहज भएको उनले जानकारी दिए। एक जनाले एक दिनमा एकदेखि दुई डोकोसम्म निगुरो संकलन गर्ने उनको भनाइ छ।

'खोलाखोल्सीको निगुरो सहरबजारमा जान थालेको छ', उनले भने, 'निगुरो हुर्किएपछि गाईवस्तुलाई सोतरका रूपमा प्रयोग गर्दै आएका थियौँ। अहिले त्यही निगुरोले मूल्य पाएको अवस्था छ। संकलित निगुरो बिक्रीका लागि कुनै समस्या छैन।'

उनीउ प्रजातिमा पर्ने निगुरो पहाड र तराई सबैतिरका वनजंगल तथा खोलाखोल्सीमा पाइने वनस्पति हो। निगुरो पहाडी क्षेत्रमा बढी मात्रामा पाइने भए पनि यहाँका गाउँघरका स्थानीयले भने कमैले मात्र खाने गरेका छन्।

स्थानीयवासीले बर्खायाम सुरु भएपश्चात जेठ-असारबाट कात्तिक महिनासम्म निगुरो बेच्दै आएका छन्। वनजंगलमा सजिलै पाइने, निगुरो अर्गानिक हुने भएकाले सहरका मानिसको रोजाइमा पर्ने गरेको छ। तराईमा पाइने निगुरोभन्दा पहाडी क्षेत्रबाट जाने डाँठे निगुरोको बजारमा राम्रो माग छ। रासस


प्रकाशित : आइतबार, भदौ १५ २०८२११:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend