स्याङ्जा- यहाँका एक युवाले व्यावसायिकरूपमा कागतीखेती गरेका छन्। स्याङ्जाको वालिङ नगरपालिका-५ चिसापानीका ऋषि रेग्मीले व्यावसायिकरूपमा कागतीखेती गरी मनग्य आम्दानी लिन थालेका हुन्।
विसं २०७८ मा भएको कोरोना महामारीले उत्पन्न भएको ‘लकडाउन’का बेला गाउँमै कागतीखेती थालेका उनले गत वर्षदेखि उत्पादन लिन थालेका हुन्। गल्याङ नगरपालिका-५ स्यालबासबाट एकसय बोट सुन कागतीका बेर्ना ल्याएर लगाएका थिए।
कोरोनाका समयमा घरबाहिर हिँडडुल गर्न नभएपछि समयको सदुपयोग गर्दै कागतीखेती गर्ने योजना बनाएर काम सुरु गरेका रेग्मीको अहिले आम्दानीको गतिलो स्रोत नै कागती बन्न पुगेको छ। 'बाँदरको समस्याका कारण खेतीयोग्य जमिन बाँझिदै गएपछि विकल्पका रूपमा कागतीको सम्भावना देखेपछि कागती रोपेको हुँ', उनले भने, 'त्यतिबेला देखेको सपना अहिले आएर साकार हुँदै गएको छ, खुसी छु।'
खेतीपाती नभएपछि बाँझिएको जमिनलाई फाँडेर उनले गाउँमै पहिलोपटक व्यावसायिकरूपमा थालेको कागतीखेती आज नमूनाका रूपमा रहेको छ। कागतीखेतीसम्बन्धी प्राविधिक ज्ञान नभए तापनि युट्युबमा हेरेरै त्यसको प्रयोग गरिरहेको उनले बताए।
'एकसय बोटमध्ये ९० बोटले गत वर्षबाट राम्रो उत्पादन दिन थालेका छन्', उनले भने, 'गत वर्षको तुलनामा यस वर्ष झनै राम्रो उत्पादन छ, गत वर्षभन्दा उत्पादन दोबर बढी हुँदै गएको छ।' झन्डै पाँच रोपनी क्षेत्रफलमा व्यावसायिक कागतीखेती गरेका रेग्मीले गत वर्षमात्र झन्डै ६० हजार रूपैयाँको कागती बिक्री गरेका थिए।
यहाँ उत्पादन भएको कागती स्थानीय वालिङ बजारका होटलमा खपत हुँदै आएको छ। उनले कागती प्रतिकेजी दुईसयदेखि तीनसय रूपैयाँका दरले बिक्री गर्दै आएका छन्। 'यहाँ उत्पादन भएको कागतीले बजार नपाउने भन्ने समस्या अहिलेसम्म छैन', उनले भने, 'कागती व्यापारीलाई नभइ सिधै होटलमा बिक्री गर्ने भएकाले पनि बजार मूल्य राम्रो पाएको छु।'
खाली तथा बाँझिएको जमिनमा अझै नयाँ-नयाँ बोट थप्दै जाने योजनामा उनी छन्। गाउँमा व्यावसायिकरूपमा उनी कागतीखेती गरेर उत्पादनसँगै आम्दानी लिन थालेपछि अहिले त्यहाँका स्थानीयवासी पनि कागतीखेतीलाई व्यावसायिकरूपमा अगाडि बढाउने तयारीमा छन्। रासस