शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

पोखरामा पाडी-बाछी हुर्काउन किसानलाई अनुदान

आइतबार, भदौ १५ २०८२
पोखरामा पाडी-बाछी हुर्काउन किसानलाई अनुदान

गण्डकी प्रदेश सरकारअन्तर्गतको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले गाईभैँसीका बाछी-पाडी हुर्काउने किसानलाई सो प्रोत्साहन रकम प्रदान गरेको हो।

कास्की- पोखरा महानगरपालिकामा पाडी-बाच्छी हुर्काउनका लागि किसानले गत आर्थिक वर्ष २०८१/८२ मा २६ लाख रूपैयाँ अनुदान पाएका छन्। गण्डकी प्रदेश सरकारअन्तर्गतको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले गाईभैँसीका बाछी-पाडी हुर्काउने किसानलाई सो प्रोत्साहन रकम प्रदान गरेको हो।

गत वर्ष एकसय ७५ किसानका दुईसय ६० पाडी तथा बाछी हुर्काउने कार्यका लागि सो रकम प्रदान गरिएको विज्ञ केन्द्रका प्रमुख एवं वरिष्ठ पशु विकास अधिकृत शम्भुराज पाण्डेले जानकारी दिए। उनका अनुसार प्रतिपाडी-बाछी १० हजार रूपैयाँका दरले अनुदान प्रदान गरिएको हो।

गत वर्ष यस कार्यक्रमका लागि एक सय ८८ जना किसानले आवेदन दिएका थिए। केन्द्रले गत वर्ष पोखरा महानगरका पशुपालन बढी हुने नौ वडामा यो कार्यक्रम लागु गरेको थियो। पोखराका वडा नं २, ५, ६, ७, १७, १८, २२, २३ र २४ मा कार्यक्रम लागु गरिएको थियो।

सीमित बजेटका कारणले जिल्लाभर कार्यक्रम कार्यान्वयन गर्न नसकिएको पाण्डेले बताए। कास्कीमा पाडी-बाछी हुर्काउन प्रोत्साहन सहयोग कार्यक्रम पाँच वर्षदेखि सञ्चालन हुँदै आएको छ।

उनले भने, 'पाडी-बाछी हुर्काउने कार्यक्रम जिल्लामा सबैभन्दा प्रभावकारी बनेको छ। यसबाट किसानको लागत कम हुने तथा उन्नत जातका स्थानीय पशुको विकास गर्दै स्वदेशमा गाईभैँसीमा आत्मनिर्भर बन्ने कार्यमा सहयोग पुगेको छ। बजेट अभावमा जिल्लाभर एकैपटक कार्यक्रम गर्न सकेका छैनौँ, पालैपालो सबै स्थानीय तहमा कार्यान्वयन गर्ने योजना छ।'

प्रोत्साहन रकम लिन किसानले कृत्रिम गर्भाधानबाट जन्मेको प्रमाणसहित कम्तीमा एक वर्ष उमेरको कोरली बाछी तथा पाडी भएको भनी प्राविधिकले प्रमाणित गरेपछि अनुदानका लागि आवेदन दिन सक्ने पशु विकास अधिकृत सहदेव पौडेलले बताए।

पाडी-बाछी हुर्काउन लागत बढ्दा किसानले झन्झट मान्ने र सुरुमै गोठबाट हटाउने गरेकाले उनीहरूलाई प्रोत्साहन कार्यक्रम ल्याएर त्यसबापत अनुदान दिएर बाहिरबाट गाईभैँसी आयात गर्नुपर्ने अवस्थाको अन्त्य गर्ने लक्ष्य रहेको बताइन्छ। उन्नत नश्लका पाडी-बाछी हुर्काउँदै उत्पादनयोग्य बनाएर विदेशबाट गाईभैँसी आयात गर्नुपर्ने अहिलेको अवस्थाको अन्त्यका लागि कार्यक्रम प्रभावकारी बन्ने विश्वास लिइएको छ।

पोखराका व्यावसायिक किसान शोभाखर भण्डारीले सरकारले अनुदान दिएकाले पाडी-बाछी हुर्काएर उत्पादन दिने बनाउन सहयोग पुगेको बताए। उनले यस कार्यक्रम जिल्लाका सबै पालिकामा कार्यान्वयन गर्न सरकारसँग माग गरे। रासस


प्रकाशित : आइतबार, भदौ १५ २०८२१०:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend