शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

पहिरोले कर्णाली राजमार्ग र देहिमाडौँ-गिरेगडा सडक अवरुद्ध

आइतबार, भदौ १५ २०८२
पहिरोले कर्णाली राजमार्ग र देहिमाडौँ-गिरेगडा सडक अवरुद्ध
फाइल तस्बिर।

वर्षायाममा यात्रा गर्दा सावधानी अपनाएर मात्र हिँड्न तथा रात्रिको समयमा यात्रा नगर्ने सबैलाई सार्वजनिक सूचनामार्फत जानकारी दिइएको जुम्ला सडक डिभिजन कार्यालयका प्रमुख दीपेन्द्रकुमार चौधरीले जानकारी दिए।

जुम्ला- कर्णाली राजमार्ग सडकअन्तर्गत कालीकोटको गगनेखोलामा गएरातिको पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएको छ।

जुम्ला सडक डिभिजन कार्यालयका प्रमुख दीपेन्द्रकुमार चौधरीले अविरल वर्षाको कारण यस डिभिजनको कार्यक्षेत्र कालीकोटको गगनेखोलामा पहिरोले सडक अवरुद्ध भएको जानकारी दिए। वर्षायाममा यात्रा गर्दा सावधानी अपनाएर मात्र हिँड्न तथा रात्रिको समयमा यात्रा नगर्ने सबैलाई सार्वजनिक सूचनामार्फत जानकारी दिएको उनले बताए।

त्यसैगरी, वर्षासँगै खसेको पहिरोका कारण बैतडीको देहिमाडौँ- गिरेगडा सडक अवरुद्ध भएको छ। उक्त सडकखण्डको दशरथचन्द नगरपालिका-२ सुन्दरखाली नजिक सडकमा पहिरोसँगै ढुंगा खसेर सडक अवरुद्ध भएको हो।

अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको भए पनि ढुंगाका कारण समस्या भएको बैतडीका प्रहरी प्रवक्ता बलराम पाण्डेयले जानकारी दिए। पहिरो पन्छाउन सडक डिभिजन कार्यालयको उपकरणले प्रयास गरे पनि पहिरोसँगै खसेको ढुंगाले गर्दा समस्या भएको उनले बताए।

उनले भने, 'हिजो रातिसम्म जेसिभीले पहिरो पन्छाउन प्रयास गरे पनि ठूलो ढुंगाका कारण सम्भव हुन सकेन।' आज स्काभेटरको सहायताले ढुंगा हटाइने र सडक सञ्चालन गरिने उनले बताए।

बैतडीसहित सुदूरपश्चिममा आज गौरापर्व मनाइँदैछ। सडक अवरुद्ध हुँदा सवारी आवागमन पूर्णरूपमा रोकिएको छ। सवारी आवागमन बन्द हुँदा गौराका लागि घर फर्किरहेका यात्री बीच बाटोमै अलपत्र परेका छन्। पहिरो पन्छाएर यातायात सञ्चालन हुन केही समय लाग्ने प्रहरीले जनाएको छ। रासस


प्रकाशित : आइतबार, भदौ १५ २०८२१०:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend