काठमाडौं- चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले थियानजिनमा आइतबार जिनान जिल्लाको सिआओझानस्थित धान उत्पादन विशेष क्षेत्रको भ्रमण गरेका छन्।
प्रधानमन्त्री ओलीले स्थानीय प्राविधिकहरूबाट आधुनिक कृषि प्रविधि, उच्च उत्पादनशील धानका जात तथा चीनले विकसित गरेको स्मार्ट खेती प्रणालीबारे जानकारी लिए। सो क्रममा उनले नेपालमा खाद्य सुरक्षाको दीर्घकालीन सुनिश्चितताका लागि यस्ता प्रविधि र अभ्यासहरू उपयोगी हुने विश्वास व्यक्त गरेका छन्।

प्रधानमन्त्री ओली सांघाई सहयोग संगठन (एससिओ) को शिखर सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलसहित चीन पुगेका हुन्। भ्रमणका क्रममा उनी उच्चस्तरीय भेटवार्तासँगै विभिन्न क्षेत्रीय र द्विपक्षीय कार्यक्रमहरूमा समेत सहभागी हुँदैछन्।
प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिडसँगको शनिबार नै द्विपक्षीय भेटवार्ता गरिसकेका छन्।




