शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

निजामती विधेयकमा ‘कुलिङ अफ पिरियड’ राख्नेमा सहमति जुट्यो

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, भदौ १४ २०८२
निजामती विधेयकमा ‘कुलिङ अफ पिरियड’ राख्नेमा सहमति जुट्यो

सांसदहरूले कुलिङ अफ पिरियड राजपत्रांकित उच्च तहका कमचारी (मुख्यसचिव, सचिव, सहसचिव) लाई लागु हुने तर सोभन्दा मुनिको कर्मचारीलाई लागु नहुने व्यवस्थामा सहमति जनाएका छन्।

काठमाडौं- निजामती विधेयकमा ‘कुलिङ अफ पिरियड’को व्यवस्था समेटिने भएको छ। प्रतिनिधिसभाबाट पारित भइसकेपछि विवादको उत्कर्षमा पुगेको यस व्यवस्थालाई आज राष्ट्रियसभाकोे विधायन व्यवस्थापन समितिले विधेयकमा राख्नुपर्ने निर्णय गरेको हो।

समितिमा संघीय निजामती सेवा विधेयक, २०८० माथि दफावार छलफलका क्रममा दुई वर्षको कुलिङ अफ पिरियड राख्ने निर्णयमा टुंगो लागेको हो।

यो व्यवस्थामा ‘निजामती कर्मचारी वा अन्य सरकारी सेवाबाट राजीनामा दिएको वा अवकाश भएको कर्मचारीले सेवाबाट अवकाश भएको मितिले दुई वर्ष अवधि पूरा नभइ कुनै पनि संवैधानिक वा सरकारी पदमा नियुक्ति पाउनेछैन’ भन्ने प्रावधान राखिएको छ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले यो विषय सकारात्मक ढंगले अघि बढाउनुपर्ने बताइन्। उनले भनिन्, 'यस विधेयकमा कुलिङ अफ पिरियडबाहेक पनि महत्त्वपूर्ण विषय छन्। निजामती कर्मचारीको नियुक्ति, सरुवा, व्यवस्थापनको विषय छ। अब निजामती विधेयकमा कुलिङ अफ पिरियडको व्यवस्था राखेर जानुपर्छ भन्ने मान्यता स्थापित भयो। सबै सकारात्मक सोचका साथ निष्कर्षमा पुग्न जरुरी छ। भोलि अभ्यासमा जाँदा कोहीमाथि अन्याय भएको महसुस भयो वा व्यावहारिक भएन भने सच्याएर संशोधन गरेर पनि जान सकिन्छ। त्यसैले यो विधेयक छिटो समिति र सभाबाट पारित हुनुपर्छ।'

सांसदहरूले कुलिङ अफ पिरियड राजपत्रांकित उच्च तहका कमचारी (मुख्यसचिव, सचिव, सहसचिव) लाई लागु हुने तर सोभन्दा मुनिको कर्मचारीलाई लागु नहुने व्यवस्थामा सहमति जनाएका छन्।  

समिति सभापति तुलसाकुमारी दाहालले समितिमा सहमति भएका व्यवस्थालाई भाषा मिलाएर प्रतिवेदन लेखन गर्न समिति सचिवालयलाई निर्देशन दिए। रासस


प्रकाशित : शनिबार, भदौ १४ २०८२१८:०६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend