वीरगञ्ज (पर्सा)- कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले नेपाल र भारतबीच देखापरेको समस्या आपसी समझदारी गरेर मिलाउनुपर्ने बताएका छन्।
मिडिया फर बोर्डर हार्माेनी, नेपालले आज यहाँ आयोजना गरेको ‘नेपाल-भारत क्रस बोर्डर मिडिया कन्क्लेभ २०२५’ मा उनले दुवै मुुलुकबीच समन्वय र सहकार्य गरेर विवाद टुङ्ग्याउनुपर्ने बताए। मन्त्री चौररियाले भने, 'दुवै मुलुकबीच सदियौँदेखि सौहार्द्रपूर्ण सम्बन्ध रहँदै आइरहेको छ। कहिलेकाहीँ सम्बन्धमा उतारचढाव आए पनि समझदारीमार्फत नै टुङ्ग्याउनुपर्ने हुन्छ।'
नेपाल र भारतबीचको सम्बन्ध संसारका अन्य कुनै पनि मुलुकमा पाउन नसक्ने उनको भनाइ थियो। 'दुवै मुलुकका जनताबीचको आत्मीय सम्बन्ध संसारको अन्य कुनै पनि मुलुकमा प्राप्त गर्न सकिँदैन। सञ्चारमाध्यमले दुवै मुलुकलाई तोड्ने नभएर जोड्नेतर्फ अग्रसर हुन जरुरी छ', कानूनमन्त्री चौरसियाले भने।
उनले नेपाल र भारतका नेतृत्वले दुवै देशमा भएका प्रजातान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण सहयोग र सदासयता देखाएको उल्लेख गर्दै त्यो सम्बन्धलाई थप बलियो बनाउन वर्तमान नेतृत्वले भूमिका खेल्नुपर्नेमा जोड दिए।
मधेस प्रदेशसभा सदस्य श्याम पटेलले विगतमा नेपाल र भारतबीचको सम्बन्ध निकै सौहार्द्रपूर्ण र सरल भए पनि पछिल्लो समय संवेदनशील बन्दै गइरहेको बताए। दुवै मुलुकबीचको सम्बन्धलाई सौहार्द्रपूर्ण बनाउनका लागि मिडियाले खोजमूलक र सत्यतथ्यमा आधारित भएर समाचार संकलन तथा सम्प्रेषण गर्न जरुरी रहेको उनको भनाइ थियो।
कार्यक्रममा राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले नेपाल र भारतबीचको सम्बन्ध जनस्तरमा सौहार्द्रपूर्ण र सदासयतापूर्ण रहँदै आएको बताउँदै मिडियाले पनि दुवै मुलुकबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउन भूमिका खेल्नुपर्नेमा जोड दिए। 'नेपाल र भारतबीच जनताको सम्बन्ध मनदेखि नै हुन जरूरी देखिन्छ', उनले भने, 'दुवै मुलुकका मिडियाले समाचार संकलन र सम्प्रेषण मात्रै नभएर पृष्ठपोषणमा पनि ध्यान दिन आवश्यक छ। पृष्ठपोषणले मात्रै प्रभावकारी सञ्चार गराउन मद्दत पुर्याउनेछ।'
अग्रज पत्रकार हस्त गुरुङले नेपाल र भारतबीच ‘ग्रासरुट’देखि नै आत्मीय सम्बन्ध विस्तार गर्नुपर्नेमा जोड दिए। पूर्वराजदूत विजयकान्त कर्णले नेपाल र भारतबीच राजनीतिक सीमा भए पनि जनताबीच कुनै पनि प्रकारको सीमा नरहेको धारणा राखे।
मिडिया फर बोर्डर हार्माेनी, नेपालका अध्यक्ष अनिल तिवारीले कार्यक्रमले दुवै मुलुकका मिडियाबीच आपसी सम्बन्ध विस्तार र प्रवर्द्धनका लागि सहयोगी भूमिका निर्वाह गर्ने बताए। मिडिया फर बोर्डर हार्माेनी, भारतका अध्यक्ष अमरेन्द्र तिवारीले सञ्चारमाध्यमले सदियौँदेखि दुई मुलुकबीचको सम्बन्धलाई सहज र प्रभावकारी ढंगले सम्प्रेषण गर्नुपर्ने बताए।
मिडिया कन्क्लेभमा दुवै मुलुकका सम्पादक, सञ्चारकर्मी, सञ्चारक्षेत्रका विज्ञ, नीति निर्माता, डिजिटल कन्टेन्ट क्रियटर्सलगायत १०० जनाको सहभागिता रहेको महासचिव रितेश त्रिपाठीले जानकारी दिए। रासस