काठमाडौं- उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न सरकारले कुनै कसर बाँकी नराखी काम गर्ने बताएका छन्।
शुक्रबार बसेको राष्ट्रियसभा बैठकमा सांसदहरुले राखेका प्रश्नहरुको जवाफ दिनेक्रममा अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन्। उनले भने, ‘ग्रे लिष्टबाट बाहिर निकाल्न कुनै कसर बाँकी नराखी सरकारले काम गर्छ। ग्रे लिष्टबाट बाहिर निस्कने मात्र होइन, फेरि कहिल्यै ग्रे लिष्टमा नपर्ने गरी कामकारबाही अघि बढाइरहेका छौँ। यसका नतिजाहरु क्रमश: आउनेछन्।’
ग्रे लिष्टका कारण मुलुकको अन्तरदेशीय वित्तीय कारोबार, विप्रेषण प्रवाह, अन्तरदेशीय व्यवसाय, विदेशी लगानीलगायत मुलुकको प्रतिष्ठामा क्रमश: प्रतिकूल असर पर्नसक्ने भएकाले सोको प्रभाव कम गर्न र यथासक्य छिटो मुलुकलाई ग्रे लिष्टबाट बाहिर निकाल्न सरकारले शीघ्र सुधारात्मक कार्ययोजना बनाइ २०८२ देखि लागु गरिसकेको अर्थमन्त्री पौडेलले बताए।
'ग्रे लिष्टका कारण मुलुकले प्राप्त गर्ने वैदेशिक ऋण, अनुदान, सहायताजस्ता लगानीमा प्रतिकूल असर पर्नसक्ने भएकाले सोको प्रभाव कम गर्न र यथासक्य छिटो मुलुकलाई ग्रे लिष्टबाट बाहिर निकाल्न सरकार संवेदनशील रहेको र सोही बमोजिम शीघ्र सुधारात्मक कार्ययोजना बनाइ प्राथमिकताका साथ कार्यान्वयनमा लगिएको छ', उनले भने।
यस्तै, उनले सम्पत्ति शुद्धीकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी नियन्त्रण विश्वव्यापी साझा प्रयास भएको भन्दै राज्यलाई नै चुनौती दिनसक्ने ठूला र गम्भीर प्रकृतिका आर्थिक अपराध नियन्त्रण नेपाल र विश्वका सबै मुलुकको सामूहिक चासोको विषय भएको बताए।