काठमाडौं- नापी कार्यालय भैरहवामा कार्यरत नापी अधिकृत सुग्रीव यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानूनीरुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा ५ करोड ७९ लाख ६२ हजार रूपैयाँ बिगो कायम गरी शुक्रबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
नापी अधिकृत यादवले माथिल्लो विभागीय प्रमुख र राजनीतिक व्यक्तिहरुलाई प्रभावमा पारेर सरकारी सार्वजनिक जग्गाहरु हाल साबिक, प्लट मिलान गर्ने नाममा सार्वजनिक जग्गाहरु व्यक्तिको नाममा पारी करोडौँको आर्थिक चलखेल गर्नुका साथै पदीय मर्यादाविपरीतका कार्यहरू गरेको पाइएको अख्तियारले जनाएको छ।
सेवा अवधि सुरु भएबाट गत असारसम्मको जाँच अवधिमा आयभन्दा व्यय बढी पाइएको र ५ करोड ७९ लाख रूपैयाँ बराबरको सम्पत्तिको स्रोत पुष्टि गर्न नसकेको अख्तियारको अनुसन्धानमा खुलेको छ।
उनलाई उक्त रकमबराबरको बिगो कायम गरी लुकाएर राखिएको सम्पत्ति जफत, कैद सजाय र जरिवाना माग गरिएको छ।