विराटनगर- कोशी प्रदेश सरकारले साना तथा मझौला व्यवसायको प्रवर्द्धन र उद्यमशीलताको विकासका लागि स्विस सरकारको सहयोगमा ‘उदय’ परियोजना सुरु गरेको छ।
यस परियोजनाबाट प्रदेशमा रोजगारी सिर्जनासहित आर्थिक समृद्धिको नयाँ ढोका खुल्ने अपेक्षा गरिएको छ। ‘उदय परियोजनाअन्तर्गत स्वीकृत सेवा प्रदायकमार्फत व्यवसाय विकास सेवा उपलब्ध गराइनेछ।
६० करोड रूपैयाँको ‘ग्यारेन्टी’ फन्डमार्फत आठ अर्ब रूपैयाँबराबरको कर्जा सुरक्षा गरिने र २८ करोड रूपैयाँको ‘च्यालेञ्ज फन्ड’मार्फत प्रवर्द्धनात्मक तथा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ।
यसबाहेक ‘इनफर्मेसन पोर्टल’मार्फत बजारसम्बन्धी सूचना उपलब्ध गराउने व्यवस्था पनि परियोजनाले गर्नेछ। परियोजनाअन्तर्गत बिनाधितो ३० लाख रूपैयाँदेखि तीन करोड रूपैयाँसम्मको कर्जा उपलब्ध गराइने र त्यसका लागि बैंक छनोटको प्रक्रिया अघि बढाइएको छ।
कोशी प्रदेश सरकारका अनुसार, उदय परियोजनाले प्रदेशमा उद्यमशीलताको विकाससँगै ठूलो सङ्ख्यामा रोजगारी सिर्जना गर्ने र आर्थिक आधारलाई मजबुत पार्ने लक्ष्य लिएको छ। परियोजनाको प्रभावकारी कार्यान्वयनका लागि कार्यविधि तयार भइसकेको र अब कार्यान्वयन चरणमा प्रवेश गरेको छ।
यो परियोजनालाई प्रदेश सरकारले प्रदेशका १४ वटा जिल्लामा पुर्याउने लक्ष्य राखेको छ। पहाडी क्षेत्रको बसाइँसराइलाई मध्यनजर गरेर त्यहाँ सञ्चालन रहेका साना तथा मझौला उद्योगलाई प्रवर्द्धन गर्ने र नयाँ उद्योगहरू स्थापनाका लागि प्रोत्साहन गर्ने नीति कोशी प्रदेश सरकारले लिएको छ।
यो परियोजनाअन्तर्गत कोशी प्रदेश सरकारको ‘क्रेडिट ग्यारेन्टी’मा झन्डै आठ अर्ब रूपैयाँ लगानी परिचालन हुनेछ। पहिलो चरणमा चार वर्षसम्म सञ्चालन हुने यो परियोजनाबाट कोशी प्रदेशमा तीन हजार रोजगारी सिर्जना हुनेछ।
परियोजनाका व्यवसाय विकास प्रमुख विष्णु काफ्लेले यो परियोजनाको प्रोजेक्ट १० वर्षसम्म सञ्चालन गर्नेगरी तयार गरिएको बताए। उनले पहिलो चरणमा यो परियोजना चार वर्षसम्मको हुने जानकारी दिए। उदय परियोजनाका टोली नेता अरुण राणाले यो परियोजनालाई सफलरुपमा अगाडि बढाउने गरी तयारी गरिएको बताउँदै परियोजनालाई व्यापकरूपमा नयाँ उद्यम गर्न चाहने र उद्यम गरिरहेकाहरूको बीचमा पुर्याउने योजनासमेत रहेको जानकारी दिए।
मुख्यमन्त्रीका आर्थिक सल्लाहकार डा मोहन सुवेदीले यो परियोजनाबाट कोशी प्रदेशलाई थप उचाइमा लैजानका लागि सहयोग पुग्ने जानकारी दिए। मुख्यमन्त्रीको पहलकदमीमा भएको एउटा महत्वकांक्षी र महत्वपूर्ण परियोजना भएको उनले बताए।
आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर राना रानाले परियोजना सञ्चालन भएसँगै प्रदेशमा महत्वपूर्ण उपलब्धि हासिल हुने बताए। उनका अनुसार, परियोजनाले बजार प्रवर्द्धनदेखि नयाँ उद्योग स्थापना गर्ने बाटो खोल्नेछ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आर्थिक उदय परियोजनालाई कोशी प्रदेशमा नमूनाका रूपमा सफल बनाएर देशव्यापी रूपमा उदाहरण दिने प्रतिबद्धता व्यक्त गरे। उनले भने, 'यो परियोजना कोशी प्रदेशको आर्थिक समृद्धि र विकासका लागि कोसेढुंगा हुनेछ।'
मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकारले पर्यटन कृषिमा ध्यान दिएको उल्लेख गर्दै पदमार्गमा आधारित पर्यटन विकासका लागि चारवटा पदमार्ग निर्माण गरिरहेको र योसँगै अहिले उदय परियोजनामार्फत सञ्चालनमा ल्याइन लागेको नवउद्यमशीलता प्रवर्द्धन कार्यक्रमले कोशी प्रदेशको समृद्धिमा ठूलो योगदान पुग्ने जानकारी दिए। रासस